युइएफएले महिला युरो २०२५ का लागि चार करोड १० लाख युरो पुरस्कार राशि प्रदान गर्ने


काठमाडौँ । युरोपेली फुटबल सङ्घ (युइएफए) ले महिला युरो २०२५ प्रतियोगिताका लागि चार करोड १० लाख युरो (चार करोड ३० लाख डलर डलर) को पुरस्कार रकम स्वीकृत गरेको घोषणा गरेको छ । यो रकम अघिल्लो संस्करणको भन्दा दोब्बर बढी हो ।
 सन् २०२२ मा इङ्ग्ल्यान्डले च्याम्पियन भएको बखत प्राप्त गरेको २० लाख ८५ हजार युरोको तुलनामा विजेता टोलीले ५१ लाख युरो प्राप्त गर्नेछ । साथै १६ सहभागी टोली प्रत्येकले १८ लाख युरो प्राप्त गर्नेछन् ।
महिला फुटबलको विकाससँगै महादेशीय प्रतियोगिताका लागि कोष युरो २०१७ पछि पाँच गुणा र इङ्गल्यान्डमा युरो २०२२ मा एक करोड ६० लाख युरो रहेकामा यो १५६ प्रतिशतले बढेको छ ।
कूल रकमको करिब ७० प्रतिशत संलग्न टोलीहरूलाई वितरण गरिनेछ । टोलीहरूले आफ्ना खेलाडीहरूलाई आफ्नो विनियोजनको ‘३० देखि ४० प्रतिशत’ तिर्नुपर्ने युइएफएले बताएको छ ।
समूह चरणमा टोलीहरूले बराबरीमा ५० हजार युरो र जितका लागि एक लाख युरो पाउनेछन् भने क्वार्टर फाइनल, सेमिफाइनल वा फाइनलमा पुगेपछि क्रमशः पाँच लाख ५० हजार, सात लाख र आठ लाख ५० हजार युरो पाउनेछन् ।
युइएफएले सन् २०३० सम्ममा महिला फुटबलमा एक अर्ब युरो लगानी गर्ने आफ्नो अभिप्राय अक्टोबरमा घोषणा गरेको थियो । यसमा आधारभूत स्तर र शीर्ष स्तरका पेशेवर मापदण्ड तथा स्टेडियम उपस्थितिलाई थप बढाउने लक्ष्य राखिएको छ । युरोकप २०२५ स्विट्जरल्यान्डमा जुलाई २ देखि २७ सम्म हुनेछ ।

प्रकाशित मिति: २ पुस २०८१, मंगलबार  ०७ : ३३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।