बेलायत सरकारले नेपाललाई कोरोनाका कारण देखिएको कठिन अवस्थालाई सम्बोधन गर्न ७ अर्ब १४ करोड रुपैयाँ सहयोग गर्ने भएको छ । बिहीबार बेलायतका विदेश तथा कमवेल्थ अफिसका राज्यमन्त्री लर्ड अहमद्ले नेपाललाई ४५.८ मिलियन पाउण्ड सहयोग गर्ने बताएका हुन् ।
अर्थमन्त्री डा. युवराज खतिवडा र संयुक्त अधिराज्य बेलायतका विदेश तथा कमवेल्थ अफिसका राज्यमन्त्री लर्ड अहमद् बीच बिहीबार भएको द्विपक्षीय छलफलमा कोरोनाको सँग लड्न उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो ।
उक्त छलफलमा अर्थमन्त्रीले नेपालको आर्थिक विकास, स्वास्थ्य, शिक्षा, भूकम्पपछिको पुनर्निर्माण, वित्तीय पहुँच, सडक पूर्वाधार र लगानी जस्ता क्षेत्रमा बेलायत सरकारबाट प्राप्त सहयोगका लागि धन्यवाद दिएका थिए ।
अर्थमन्त्रीले छलफलमा नेपालका विकास प्राथमिकता, आर्थिक स्थिति र लगानीमैत्री वातावरणका लागि भएका प्रयासका बारेमा जानकारी गराएका थिए । उनले प्रत्यक्ष वैदेशिक लगानीको थ्रेसहोल्ड संशोधन गर्ने सम्बन्धमा छलफल अगाडि बढेको, बेलायतसँग दोहोरो कर मुक्ति सम्झौताको प्रक्रिया अघि बढेको, लगानी आकर्षित गर्ने गरी सार्वजनिक निजी साझेदारी तथा लगानी बोर्ड ऐन लगायतका कानूनहरु निर्माण गरेको उनले बताए ।
अर्थमन्त्रीले बेलायतका लगानीकर्तालाई अघिल्लो वर्ष लगानी सम्मेलनका शिलशिलामा बेलायत भ्रमण गरेको र त्यसको फलस्वरुप बेलायती लगानीकर्ताहरु उत्सुक भएको स्मरण गर्दै यसमा सहजीकरण गर्न बेलायत सरकारलाई अनुरोध समेत गरे । वित्तीय पहुँच र वित्तीय समावेशिता सम्बन्धी नीति तर्जुमा र कार्यान्वयनमा बेलायत सरकारको महत्वपूर्ण भूमिका रहेको उनले बताए । बेलायतमा हुने कोप २६ को बैठकमा नेपालले सक्रिय सहभागिता जनाउने र आफ्ना अनुभवहरु समेत सुनाउने जानकारी उनले दिए ।
सो छलफलमा बेलायतका मन्त्रीले नेपालको आर्थिक सुधार, लगानीको वातावरण, वैदेशिक लगानीको सीमा, जलवायु परिवर्तनको असर न्यूनीकरण, सगरमाथा संवाद र हरित विकास जस्ता विषयमा थप सहयोग बढाउन र सहकार्य गर्न बेलायत सरकार इच्छुक रहेको बताए ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया