आइतबारको कारोबारमा क्लोज आउट पर्ने नपर्ने सोमबार मात्र थाहा हुने


नेपाल स्टक एक्सचेञ्जको कारोबार प्रणालीमा समस्या आए पछि उठेको क्लोज आउटको विषय सोमबार मात्र टुङ्गो लाग्ने भएको छ । नेप्सेको कारोबार शाखाले व्यवस्थापनलाई आइतबारको कारोबारको बिस्तृत विबरण सोमबार मात्र बुझाउने भएकाले भोलि निर्णय हुने भएको हो ।

आइतबार नेप्सेको अनलाइन कारोबार प्रणाली (नट्स) को म्याच इञ्जिन र ब्रोकरको कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) बीचको सम्पर्क टुटे पछि समस्या आएको थियो । सो समस्याका कारण लगानीकर्ताले शेयर कारोबार गर्नका लागि अर्डर इन्ट्री गर्दा नभए पछि पटक पटक प्रयास गरेका थिए । केही बेर पछि टीएमएसले सबै अर्डर इन्ट्री गराई दिएको थियो । जसका कारण लगानीकर्ताको डिम्याट खातामा नभएको शेयर समेत बिक्री आदेशमा परेको थियो । जसका कारण अधिकांस लगानीकर्ता क्लोज आउटमा परेका थिए ।

आइतबार भएको कारोबारको विबरण र प्रकृति थाहा नहुञ्जेल नेप्सेले क्लोज आउटको विषयमा निर्णय गर्न नमिल्ने नेप्से प्रवक्ता मुराहरी पराजुलीले बताए । “आइतबारको समस्याबाट कति लगानीकर्ता क्लोज आउटमा पर्छन् भन्ने बिस्तृत विबरण कारोबार शाखाले नदिएसम्म निर्णय हुँदैन,” नोटबजारसँग कुरा गर्दै पराजुलीले भने, “आइतबारको कारोबार विबरण नेप्सेको कारोबार शाखाले उपलब्ध गराए पछि मात्र व्यवस्थापनले सोमबार थप निर्णय गर्नेछ ।”

अनलाइन प्रणालीमा आएको समस्याले फेरि बजार खुल्ने अनिश्चित, खातामा नभएको शेयर कारोबार के होला ?

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।