दहिझोडा सामुदायिक बन उपभोक्ता समूहको २८ बार्षिक साधारणसभा सम्पन्न


काठमाडौँ । झापाको अर्जुनधार नगरपालिका ४ मा रहेको दहिझोडा सामुदायिक बन उपभोक्ता समूहको २८ बार्षिक साधारणसभा सम्पन्न भएको छ ।  आइतबार बन समितिको कार्यालय परिसरमा आयोजना भएको सभामा कार्यसम्पादन प्रगती विवरण र आगामी योजनाहरु सार्वजनिक गरिएको छ ।

संस्थाका अध्यक्ष टेकनाथ अधिकारीले प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदन अनुसार दहिझोडा सामुदायिक वन उपभोक्ता समूहले आर्थिक वर्ष २०८०\०८१ मा वन संरक्षण, सामुदायिक सेवा, महिला सशक्तीकरण, र सामाजिक उत्थानका क्षेत्रमा उल्लेखनीय उपलब्धिहरू हासिल गरेको छ । वार्षिक प्रगति विवरण प्रस्तुत गर्दै समूहले वन क्षेत्रको संरक्षण र उपभोक्ताहरूको जीवनस्तर उकास्न विभिन्न क्रियाकलापहरू सफलतापूर्वक सम्पन्न गरेको प्रतिवेदनमा उल्लेख छ ।

समूहले वन संरक्षणलाई प्राथमिकतामा राख्दै वन्यजन्तु र वन क्षेत्रको सुरक्षा गर्न प्रभावकारी कदम चालेको छ । वन संरक्षण उपसमिति, वन हेरालु कर्मचारी, र अन्य सदस्यहरूको सहकार्यमा वनको संरक्षण गरिएको छ । वन्यजन्तु र पर्यावरण संरक्षणका लागि समूहले नियमनकारी निकायहरूसँग निरन्तर समन्वय गरेर काम गरेको छ । यसका साथै, मृतक उपभोक्ताहरूको अन्तिम श्रद्धाञ्जलीस्वरूप ७३ जनालाई निःशुल्क दाहासंस्कारका लागि दाउरा उपलब्ध गराइएको छ ।

हरियाली महिला बचत तथा ऋण परिचालन समूहको पहलमा सुलभ व्याजदरमा प्रति व्यक्ति ३० हजार रुपैयाँका दरले ४७० जनालाई ऋण उपलब्ध गराइएको छ। महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले हरपिक, झोलसाबुन, र फिनाइल बनाउन ३ दिने सीपमूलक तालिम सञ्चालन गरिएको छ । किसानहरूको परम्परागत पहिचान संरक्षण गर्न १०० सेट हलो जुवा निःशुल्क वितरण गरिएको छ। स्वास्थ्य सेवाको पहुँच टाढा भएका उपभोक्ताहरूलाई १\१ सेट ब्लड प्रेसर नाप्ने मेशिन र थर्ममिटर निःशुल्क प्रदान गरिएको छ ।

समूहले २०८०\०८१ मा ४०३५।६७ क्यु। फिट साल काठ, ११२४.६६ क्यु. फिट अन्य काठ, र १४७८ क्विन्टल दाउरा संकलन गरेको छ । समूहको आर्थिक कारोबारलाई पारदर्शी बनाउन सफ्टवेयर प्रणालीबाट लेखा राख्ने कार्य सुरु गरिएको छ ।

समूहले आगामी आर्थिक वर्षका लागि १ करोड ७८ लाख ३७ हजार ५ रुपैया अनुमानित बजेट तयार पारेको छ । बास, केरा, र फलफूलका बिरुवा रोपण। माटो परीक्षण र सिँचाइको व्यवस्थासहित वृक्षरोपणको प्रभावकारिता बढाउने काम गरेको छ ।

समूहले सभाहल स्तरोन्नति गरी बिजुली, पंखा, र अन्य सुविधा थप गरेको छ। कार्यालय परिसरमा सुरक्षा व्यवस्था र रंगरोगन गरी थप आकर्षक बनाइएको छ ।
समूहले युवा वर्गलाई खेलकुदमा प्रोत्साहन गर्न फुटबल, भलिबल, र क्रिकेट प्रतियोगिताहरूको आयोजना तथा आर्थिक सहयोग गरेको छ । साथै, उपभोक्ताका लागि समूहको कामका तस्वीर समेटेर भित्तेपात्रो प्रकाशन गरी घर–घरमा वितरण गरिएको छ ।

यस वर्ष १० नयाँ घरधुरी उपभोक्ता थपिँदै कुल उपभोक्ता संख्या १५२१ पुगेको छ। समूहले आगामी दिनमा वन संरक्षणसँगै सामुदायिक विकासलाई अझ प्रभावकारी बनाउन प्रतिबद्ध रहेको जानकारी दिएको छ ।

संथाका अध्यक्ष टेकनाथ अधिकारीको अध्यक्ष्तामा र पूर्व बन तथा वातावरण मन्त्री वीरमण्मी ढकालको प्रमुख आतिथ्यमा आयोजित सभामा प्रमुख अतिथि ढकाल, अर्जुनधारा ४ का वडाध्यक्ष अमरबहादुर कटुवाल, ५ का वडाध्यक्ष गीताराज खड्का, सामुदायिक बन उपभोक्ता महासंघ अर्जुनधारा इन्चार्ज तुलसीप्रसाद खतिवडा, प्रजापति सामुदायिक बनका अध्यक्ष मात्रिका पोखरेल र राजनीति दलहरुको तर्फबाट नेपाली काँग्रेस अर्जुनधारा नगर सभापति हेमराज खरेलले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा सामुदायिक बन स्थापनाकालका १६ जना बन हेरालु र १० वर्ष भन्दा धेरै सेवा गर्ने ६ जना कर्मचारीलाई सम्मान गरिएको छ । त्यसैगरी क्षेत्रिय अध्यक्ष, टोल अध्यक्ष, हरियाली समूहका क्षेत्रीय टोल संयोजक, असल ऋणी र बचतकर्ताहरुलाई सम्मान तथा प्रशंसा पत्र प्रदान गरिएको छ । ५ वटा क्षेत्र र ३० वटा टोल समिति रहेको छ । खुलासत्र कार्यक्रममा संस्थाका उपाध्यक्ष तुलाराम बस्नेतले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन सचिव सिताराम पराजुलीले गरेका थिए ।

प्रकाशित मिति: २९ पुस २०८१, सोमबार  ०८ : ३४ बजे