सुदूरपश्चिम प्रदेश उद्योगहरुको औसत क्षमता उपयोग ४८.९६ प्रतिशत रहेको छ । अर्थतन्त्रमा देखिएको सुस्तताका कारण उद्योगहरुको क्षमता उपयोग न्युन रहेको हो ।
औद्योगिक उत्पादनमध्ये समीक्षा वर्षमा चामल र गहुँको उत्पादन वृद्धि भएको छ । त्यसैगरी तोरीको तेल, साबुन, ईटा, चिनीे र रोजिनको उत्पादनमा ह्रास आएको केन्द्रीय बैंकले जनएको छ ।
राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षमा प्रमुख कृषि बाली (खाद्य तथा अन्य बाली, तरकारी एवम् फलफूल तथा मसला) ले ढाकेको भू–क्षेत्र ७.७१ प्रतिशतले घटेको छ । यस्ता बालीको उत्पादन २.८५ प्रतिशतले बढेको छ ।
गत आवमा प्रमुख खाद्य तथा अन्य बालीमध्ये सबैभन्दा बढी फापर र जौंको उत्पादन क्रमशः ६५.७१ प्रतिशत र २५.०३ प्रतिशतले वृद्धि भएको छ भने तेलहनको उत्पादनमा सबभन्दा बढी १८.५३ प्रतिशतले ह्रास आएको छ । पशुजन्य उत्पादन अन्तर्गत दूध ४.५८ प्रतिशत, मासु ९.३२ प्रतिशत र अण्डा ६.४४ प्रतिशतले बढेको छ ।
गत आवमा सुदूरपश्चिम प्रदेशका बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कुल कर्जाको १०.८१ प्रतिशत हिस्सा कृषि क्षेत्रमा प्रवाहित भएको छ ।
२०८१ असार मसान्तसम्ममा सुदूरपश्चिम प्रदेशमा कृषिमा प्रवाहित कर्जा २०८० असार मसान्तको तुलनामा १.३१ प्रतिशतले ह्रास भई १६ अर्ब ५२ करोड ८५ लाख रुपैयाँ पुगेको केन्द्रीय बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कुल कर्जाको १६.७५ प्रतिशत हिस्सा उद्योग क्षेत्रमा प्रवाहित भएको छ भने उक्त क्षेत्रमा प्रवाह भएको कर्जा २०८० असार मसान्तको तुलनामा ४.७९ प्रतिशतले ह्रास भई २५ अर्ब ६० करोड १८ लाख रुपैयाँ पुगेको छ ।
गत आवमा पर्यटकस्तरीय होटल तथा लजको संख्यामा ४.१७ प्रतिशतले कमी आएको छ भने होटल शैयाको संख्या १.४७ प्रतिशतले घटेको छ । घरजग्गा रजिष्ट्रेशन संख्या ८.२३ प्रतिशतले घटेको छ भने रजिष्ट्रेशन राजस्व ३१.०४ प्रतिशतले बृद्धि भएको छ ।
२०८१ असार मसान्तसम्म सुदूरपश्चिम प्रदेशमा बैंक तथा वित्तीय संस्थाले संकलन गरेको कुल निक्षेप २०८० असार मसान्तको तुलनामा १६.०९ प्रतिशतले बढेको छ भने कर्जा प्रवाह ०.७५ प्रतिशतले वृद्धि भएको छ । सो अवधिमा यातायात साधन संख्या ४.१२ प्रतिशतले वृद्धि भएको छ ।
यस प्रदेशका बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कुल कर्जाको ७२.४४ हिस्सा सेवा क्षेत्रमा प्रवाहित भएको छ । सुदूरपश्चिम प्रदेश सरकारको चालु खर्चतर्फ बिनियोजन भएको बजेटमध्ये समीक्षा वर्षमा ६६.५५ प्रतिशत खर्च भएको छ भने पुँजीगत खर्चतर्फ बिनियोजन भएको बजेट मध्ये ६२.०६ प्रतिशत खर्च भएको छ ।
२०८० फागुनसम्ममा यस प्रदेशका विभिन्न जलविद्युत आयोजनाहरुबाट कुल १७१ मेगावाट विद्युत उत्पादन भएको छ । आर्थिक वर्ष २०८०/८१ मा यस प्रदेशबाट जम्मा २४ हजार २५ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । आर्थिक वर्ष २०८०/८१ को फागुन मसान्तसम्म सुदूरपश्चिम प्रदेशमा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट सिर्जित रोजगारीमा खटिएका व्यक्तिको औषत रोजगारी दिन ६५.७७ रहेको छ ।
प्रतिक्रिया