नेपाल टेलिकमको नाफा ३२.९७ प्रतिशतले घट्यो


काठमाडौँ । नेपाल टेलिकमको नाफा ३२.९७ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले २ अर्ब ६३ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३२.९७ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३ अर्ब ९३ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

कम्पनीको आम्दानी घटेसँगै खुद नाफा पनि घट्न पुगेको हो। समीक्षा अवधिमा कम्पनीको आम्दानी १.४० प्रतिशत घटेर १७ अर्ब ४९ लाख रुपैयाँमा सीमित भएको छ। त्यस्तै, कम्पनीको वित्तीय आम्दानी समीक्षा अवधिमा ३६.३० प्रतिशतले घटेर २ अर्ब ३४ करोड ३० लाख रुपैयामा सीमित भएको छ भने कुल आम्दानी ८.४० प्रतिशत घटेर १९ अर्ब ५१ करोड ९२ लाख रुपैयाँमा सिमीत भएको छ।

कम्पनीको वित्तयि खर्च भने ०.१९ प्रतिशतले घटेर ७ करोड ६७ लाखमा सीमित भएको छ। नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १४ रुपैयाँ ४० पैसा घटेर २९ रुपैयाँ २८ पैसामा झरेको छ। पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ५०६ रुपैयाँ ३४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३०.३३ गुणा रहेको छ।

चुक्ता पूँजी १८ अर्ब रुपैयाँ रहेको यस कम्पनीको जगेडा कोषमा ७३ अर्ब १४ करोड रुपैयाँ सञ्चित छ।

प्रकाशित मिति: ३० माघ २०८१, बुधबार  ०७ : १८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।