बैंक तथा वित्तीय संस्थाले ऋणीको धितो लिलामी गर्दा र सकार्दा मूल्याङ्कन प्रक्रिया फरक नगर्न सुझाब


बैंक तथा वित्तीय संस्थाले ऋणीको धितोबापतको सम्पत्ति लिलाम गर्दा कानुनी र विश्वसनीय ढङ्गले गर्नुपर्ने सरोकारबालाले सुझाएका छन । उनीहरुले बैंक तथा वित्तीय संस्थाले ऋणीको धितोबापतको सम्पत्ति लिलाम गर्दा देखावटी रूपमा मात्रै नभएर विश्वसनीय ढङ्गले गर्नुपर्ने बताएका हुन् ।

जिल्ला प्रशासन कार्यालय पर्साको समन्वयमा बैंक तथा वित्तीय संस्थाका प्रादेशिक प्रमुख तथा प्रतिनिधिसँगको छलफलमा पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बैंक तथा वित्तीय संस्थाले ऋणीको धितोबापतको सम्पत्ति लिलाम गर्दा पारदर्शिता र विश्वसनीयता कायम गर्नुपर्ने बताए । “धितो स्वीकार गर्ने बेला ५० लाख रुपैयाँ मूल्याङ्कन भएको सम्पत्ति लिलाम गर्नुपर्दा भने २८–३० लाख रुपैयाँ मूल्याङ्कन गर्ने प्रक्रियालाई सुधार गर्न जरुरी भइसकेको छ”, उनले भने, “धितो स्वीकार गर्दा इञ्जिनियर सहितको प्रयोग गरेको देखिन्छ तर, लिलाम गर्दा सो प्रक्रिया किन नअपनाइएको हो रु यो विषयमा पनि सुधार गर्न आवश्यक भइसकेको छ ।”

धितो लिलाम गर्दा पहिला बनिबनाउ तीन–चार व्यक्ति लगेर प्रक्रिया मात्रै मिलाउने प्रवृत्तिमा सुधार गर्न बैंक तथा वित्तीय संस्थालाई उनले निर्देशन दिए । “बैंक तथा वित्तीय संस्थाले कानुनी प्रक्रिया मात्रै पूरा गरेका देखिन्छन्”, उनले भने, “असल नियत र खराब नियतका ऋणीलाई एउटै नजरले हेर्न हुँदैन । व्यवहारिक र पारदर्शीतालाई पनि ध्यान दिन जरुरी छ ।”

नेपाल राष्ट्र बैंक वीरगञ्जका निर्देशक सुशील पौडेलले बैंक तथा वित्तीय संस्थाले ऋण प्रवाहमा मात्रै ध्यान नदिएर ऋण दिएपछि पनि ऋणीको निरन्तर अनुगमन गर्नुपर्नेमा जोड दिए । “धेरै ऋण प्रवाह गर्नेतर्फ मात्रै ध्यान केन्द्रित गर्नुहँुदैन”, उनले भने, “जुन प्रयोजनको लागि ऋण लिएको हो । सोही प्रयोजनमा प्रयोग भयो कि भएन भन्नेतर्फ पनि सचेत हुन जरुरी छ ।”

वीरगञ्ज बैंक तथा वित्तीय संस्था समूहका संयोजक रोहिणी आचार्यले राष्ट्र बैंकको नीति र निर्देशिका अनुसार सञ्चालन हुँदै आइएको बताए । “केही संस्थाले गरेका गल्ती र कमजोरीलाई देखाएर अन्यलाई खराब भन्न हुँदैन”, उनले भने, “पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको ऋण उठाउन समस्या भइरहेको छ । अर्कोतर्फ संस्थाका कर्मचारीलाई पनि भौतिक आक्रमण भएकोतर्फ सचेत गराउन चाहान्छु ।”

नेपाल राष्ट्र बैंक वीरगञ्जका सहायक निर्देशक नरेशकुमार सर्राफले पछिल्लो समय ऋण असुलीमा चुनौती थपिँदै गइरहेको बताए । “बैंक तथा वित्तीय संस्थाले ऋणीको धितोबापतको सम्पत्ति लिलामी गर्दा पारदर्शिता अपनाउनु पर्दछ”, उनले भने । पर्साका प्रहरी प्रमुख गौतम मिश्रले प्रहरीमा पछिल्लो समय आर्थिक अपराधका गतिविधिसम्बन्धी उजुरी आउने क्रम बढेको बताए । “बैंक तथा वित्तीय संस्थाले आर्थिक अपराधका गतिविधिसम्बन्धी अनुसन्धानको क्रममा सहजीकरण गर्न आवश्यक देखिन्छ”, उनले भने ।

सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वाटरका गणपति राधेश्याम धिमालले बैंक तथा वित्तीय संस्थाले आफ्नो कार्यालय वरिपरि सिसी क्यामेरा जडान गरी कार्यसम्पादनमा पनि प्रविधिको प्रयोग गर्न अनुरोध गरे ।

प्रकाशित मिति: ३० माघ २०८१, बुधबार  १६ : ५२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।