सिभिल बैंकले हिमालयन बैंक (CBL) ले प्राप्ति गर्नेबारे विभिन्न सञ्चार माध्यममा आएका सामाचारहरुप्रति बैंकको गम्भिर ध्यानाकर्षण भएका जनाउँदै समाचारमा आएजस्तै कुनैपनि औपचारिक निर्णय नभएको प्रष्टिकरण दिएको छ ।
सिभिल बैंकले हिमालयन बैंकलाई प्राप्ति गरिदिन अनुरोध गरेको भन्ने खबरहरु सार्वजनिक भएपछि शेयर मूल्यमा प्रभाव पार्ने गतिविधि भएको भन्दै नेप्सेले आइतबार सिभिल बैंकलाई पत्र लेख्दै स्पष्टिकरण मागेको थियो ।
नेप्सेले सिभिल बैंकलाई सोध्यो, हिमालयन बैंकसँगको मर्जरको बिषय के हो ?
सिभिल बैंकले सोमबार नेप्सेलाई जवाफ दिँदै हिमालयन बैंकले प्राप्ति गर्ने विषयमा आएका समाचारजस्तो बैंकले कुनैपनि समाचार सम्प्रेषण नगरेको अनुरोध गर्दै धितोपत्र सूचीकरण विनियमावली २०७५ को विनियम २२ को (च) बमोजिम बुझाउनुपर्ने सबै निर्णयको जानकारी समयमा नै बुझाउँदै आइरहेको र भविष्यमा पनि बुझाउने जनाएको छ ।
नेपाल राष्ट्र बैंकले तोकेको मर्जर नीति अनुरुप बैंकले मर्जर गर्नको लागि सम्भावित उपयुक्त बैंकहरुको खोजी गर्ने क्रममा विभिन्न बैंकसँग अनौपचारिक रुपमा छलफल तथा कुराकानी भएको जनाएको छ ।
बैंकले हालसम्म मर्जर समिति तथा सञ्चालक समितिबाट कुनैपनि औपचारिक निर्णय नभएको जानकारी दिँदै बैंकले शेयर मूल्यमा असर पर्ने कुनै पनि सूचना प्रवाह नगरेको समेत स्पष्ट पारेको हो ।
हिमालयन बैंकले सिभिललाई प्राप्ति गर्ने समाचार सम्प्रेषण भएपछि आइतबार सिभिल बैंकको शेयरमूल्यमा सकारात्मक सर्किट लागेपछि नेप्सेले स्पष्टिकरण सोधेको थियो ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया