मध्य भोटेकोसी र खिम्ती–बाह्रबिसे प्रसारण लाइन १ महिनाभित्र सञ्चालनमा ल्याउन ताकेता


काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले आफ्नो सहायक कम्पनी चिलिमे जलविद्युत लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा बनाइरहेको मध्य भोटेकोसी जलविद्युत आयोजना र खिम्ती–बाह्रबिसे प्रसारण लाइन निर्माण १ महिनाभित्र सम्पन्न गर्न ताकेता गरेको छ ।

निर्माण सम्पन्न भएको मध्य भोटेकोसीबाट विद्युत् उत्पादन सुरु गर्न संरचना तथा उपकरणहरू परीक्षणका क्रममा पानी हाल्दा सुरुङ चुहिएको थियो । हाल चुहिएको सुरुङको मर्मत र सुधारको काम धमाधम भइरहेको छ ।

१०२ मेगावाट जडित क्षमताको मध्य भोटेकोसीबाट हिउँदयामका महिनामा ४० मेगावाटसम्म विद्युत् उत्पादन हुन्छ । हिउँदयामको माग बमोजिम विद्युत आपूर्ति व्यवस्थापनका लागि ४० मेगावाटको पनि ठुलो महत्व भएकाले प्राधिकरण व्यवस्थापनले मध्य कोटेकोसीलाई शीघ्र सञ्चालनमा ल्याउन पहल साथै ताकेता गरेको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र चिलिमे जलविद्युत कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) एवं मध्य भोटेकोसी जलविद्युत कम्पनी सञ्चालक समितिका अध्यक्ष सुभाषकुमार मिश्र सम्मिलित टोलीले शनिबार प्रसारण लाइन र सबस्टेसनको अनुगमन भ्रमण गरी निर्माण प्रगतिका विषयमा जानकारी लिएको छ ।

मध्य भोटकोसी जलविद्युत आयोजनाबाट उत्पादित विद्युत प्रवाह हुने तामाकोसी–काठमाडौँ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत रामेछापस्थित नयाँ खिम्ती सबस्टेसनबाट सिन्धुपाल्चोकको बाह्रबिसेसम्मको ४०० केभी प्रसारण लाइन निर्माण अन्तिम चरणमा छ । प्रसारण लाइन आयोजनाअन्तर्गत खिम्ती–बाह्रबिसे खण्डमा पर्ने सम्पूर्ण टावर खडा भइसकेका छन् । करिब १ किलोमिटर मात्र तार तान्न बाँकी छ ।

४०० केभी नयाँ खिम्ती–बाह्रबिसे प्रसारण लाइनलाई तत्काल २०० केभीमा सञ्चालन (चार्ज) मा ल्याएर मध्य भोटेकोसीको विद्युत् राष्ट्रिय प्रसारण ग्रिडमा समाहित गरिनेछ । उक्त लाइन २०० केभीमा चार्ज गर्न नयाँ खिम्ती र बाह्रबिसे सबस्टेसनमा आवश्यक संरचना राख्ने प्रक्रिया अगाडि बढिसकेको छ ।

कार्यकारी निर्देशक घिसिङ नेतृत्वको टोलीबाट खिम्ती–बाह्रबिसे लाइनलाई २०० केभीमा चार्ज गर्न नयाँ खिम्ती र बाह्रबिसे सबस्टेसनमा भइरहेका काम र गर्नुपर्ने बाँकी कामका विषयमा छलफल गरी बाँकी काम तत्काल अगाडि बढाउन आयोजना व्यवस्थापन र निर्माण व्यवसायीलाई निर्देशन दिइएको छ । प्रसारण लाइनअन्तर्गत सिन्धुपाल्चोको त्रिपुरासुन्दरी गाउँपालिका–२ चौकटामा जारी तार तान्ने कामको समेत टोलीले निरीक्षण गरेको थियो ।

हिउँदयामको विद्युत भार व्यवस्थापनका लागि ४० मेगावाटको पनि ठुलो भूमिका हुने भएकाले दुवै आयोजनाको निर्माण संवेदनशील र अत्यावश्यक देखिएकाले अनुगमन गर्न आफैँ फिल्डमा आएको उल्लेख गर्दै कार्यकारी निर्देशक घिसिङले निर्माणलाई गम्भीर रूपमा लिएर बाँकी काम आवश्यक समन्वय गरी तीव्र रूपमा अगाडि बढाउन निर्देशन दिए ।

बाह्रबिसे नगरपालिका–५ स्थिति मध्य भोटेकोसी आयोजनाको विद्युत् गृहको स्विचयार्डबाट सोही नगरपालिका–३ स्थित प्राधिकरणको बाह्रबिसे सबस्टेसन जोड्ने करिब ४ किलोमिटर २२० केभी प्रसारण लाइन निर्माण भइसकेको छ ।

तामाकोसी तथा सुनकोसी नदी र तिनका सहायक खोलाहरूमा निर्माण भएका तथा हुने जलविद्युत आयोजनाहरूको विद्युत् प्रवाहका लागि तामाकोसी–काठमाडौँ प्रसारण लाइन निर्माण गरिएको हो । बाह्रबिसे–लप्सीफेदी लाइन खण्डमा पर्ने १२२ टावरमध्ये २ वटाको मात्र निर्माण बाँकी छ । आयोजनाअन्तर्गत नै बाह्रबिसेमा २२० केभी सबस्टेसन निर्माण सम्पन्न भइसकेको छ ।

प्रकाशित मिति: ३ चैत २०८१, आइतबार  १२ : ३७ बजे