काठमाडौँ । पछिल्लो समय क्युआर कोडमार्फत् हुने भुक्तानीले व्यापकता पाउँदै जाँदा नेपालीको जीवनशैली नै फेरिँदै गएको छ । अधिकांश नागरिकले पर्समा रकम बोकेर हिँड्नै छाडेको बताउने गरेका छन् ।
क्युआर कोडको प्रयोग गरी ठेलागाडामा हुने व्यापारदेखि सपिङ मलसम्मको भुक्तानी गर्न सकिने भएकाले नगद बोकिरहनुपर्ने जीवनशैलीबाट नागरिक डिजिटल भुक्तानीतर्फ ‘सिफ्ट’ भइरहेको केन्द्रीय बैंकको तथ्यांकले देखाउँछ ।
चालु आर्थिक वर्षको माघसम्ममा २ करोड ६३ लाख ६ हजारभन्दा बढी पटक क्युआरमार्फत् भुक्तानी भएको राष्ट्र बैंकको तथ्यांक छ । जुन गत आवको सोही अवधिको तुलनामा १ करोड ३१ लाख ४९ हजारभन्दा बढी हो । गत आवको माघ महिनासम्ममा १ करोड ३१ लाख ५७ हजारभन्दा बढी पटक कारोबार भएको थियो ।
यस अवधिमा कारोबार संख्या मात्र होइन, कारोबार रकम पनि बढ्दै गएको छ । राष्ट्र बैंकका अनुसार २०८१ माघसम्ममा ७७ अर्ब ९० करोड ९० लाख रुपैयाँ हाराहारी क्युआर कोडमार्फत् कारोबार भएको छ । जबकि गत आवको सोही अवधिमा ३७ अर्ब ७३ करोड ४० लाख रुपैयाँ मात्रै कारोबार भएको थियो ।
गभर्नर महाप्रसाद अधिकारीको ५ बर्से कार्यकाल सकिँदासम्म डिजिटल भुक्तानीले छलाङ मारेको यस तथ्यांकले देखाउँछ । तरकारी पसलदेखि ठेलागाडासम्म क्युआर कोडमार्फत् भुक्तानी गर्ने अभियान चलाएका अधिकारीले क्युआर भुक्तानीमा महत्वपूर्ण सफलतासहित बिदा हुने तयारीमा छन् ।
भुक्तानीको माध्यमका रूपमा सहज हुँदै जाँदा क्युआर कोडको लोकप्रियता बढ्दै गएको हो । क्युआर कोडमार्फत् हुने भुक्तानीको प्रवद्र्धनका लागि राष्ट्र बैंकले अभियान नै चलाएको थियो ।
गभर्नर अधिकारीले किराना पसलदेखि अन्य साना तथा मझौला व्यवसायमा आफ्नै उपस्थितिमा क्युआर कोडबाट भुक्तानीको सुरुआत गराउँदै आएका थिए । गभर्नरकै उपस्थितिमा सुरु भएकाले पनि क्युआर कोड कारोबारमा धेरैको ध्यान गएको थियो ।
राष्ट्र बैंकको डिजिटल भुक्तानी अभियानलाई बैंकिङ क्षेत्रले पनि प्राथमिकतामा राख्दै जाँदा त्यसको प्रयोगले व्यापकता पाउँदै गएको हो ।
पछिल्लो समय ठेलागाडामा वस्तु बेच्ने साना तथा मझौला व्यापारी, किराना पसलदेखि ठुला व्यापार व्यवसायमा समेत क्युआर कोडको प्रयोग भइरहेको छ । विगतमा झोलाभरि र पर्सभरि नगद बोकेर हिँडिरहेका नेपालीले अहिले पर्समा एटिएम कार्ड र सवारीसाधनका लाइसेन्सबाहेक नगद बोक्ने गरेका छैनन् ।
साथमा नगद बोकेर हिँड्नुनपर्ने तथा प्रयोगमा सहज, सरल र सुरक्षित हुने भएकाले पनि यसतर्फ आकर्षण बढेको जानकार बताउँछन् ।
राष्ट्र बैंकले विभिन्न माध्यमबाट क्युआर कोडमार्फत् भुक्तानी गर्न कार्यक्रमहरू पनि सञ्चालन गरेको छ । त्यसमाथि प्रयोगका लागि सरल र सहज भएकाले जनमानसमा यसको लोकप्रियता बढेको सरोकारवाला बताउँछन् ।
राष्ट्र बैंकले २०७६ साउनबाट क्युआर कोडमार्फत् कारोबार भएको मासिक तथ्यांक सार्वजनिक गर्न थालेको थियो । जसअनुसार २०७६ साउनमा मात्रै ८ लाख ५५ हजारभन्दा बढी पटक क्युआर कोडमार्फत् भुक्तानी भएको थियो ।
जसमा ३ अर्ब ६५ करोड १० लाख रुपैयाँ हाराहारी भुक्तानी भएको थियो । त्यसपछि क्युआर कोडबाट हुने भुक्तानीमा विभिन्न सुधार हुँदै गयो । जसअनुसार राष्ट्र बैंकले २०७७ फागुनमा ‘नेपाल क्युआर स्ट्यान्डर्डाइजेसन फ्रेमवर्क एन्ड गाइडलाइन’ जारी गरेको थियो । त्यसपछि क्युआर कोडमार्फत् हुने भुक्तानीलाई क्रमशः विस्तार गर्दै लगिएको छ ।
सरकारले समेत डिजिटल माध्यमबाट हुने भुक्तानीलाई प्राथमिकता दिँदै गएको छ । फोनपे क्युआर कोडमार्फत् भुक्तानी गर्दा निःशुल्क हुने भएका कारण पनि यसतर्फ आकर्षण बढेको छ ।
पछिल्लो समय वालेट तथा मोबाइल बैंकिङबाट हुने भुक्तानीमा महँगो शुल्क तिर्नुपर्ने व्यवस्थाका कारण पनि क्युआर कोडमार्फत् हुने भुक्तानीलाई नागरिकले रुचाइरहेका छन् ।
प्रतिक्रिया