व्यवसाय दर्ता, नविकरण, राजश्व बुझाउने सम्बन्धमा प्रविधिको प्रयोग आवश्यक : चन्द्र ढकाल


काठमाडौँ । व्यवसाय दर्ता ,नविकरण राजश्व बुझाउन प्रविधिको प्रयोग आवश्यक रहेको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले बताएका छन् ।

उद्योग मन्त्री दामोदर भण्डारीलाई आर्थिक बर्ष २०८२/८३ को नीति तथा कार्यक्रमका लागि सुझाव पेश गर्न आयोजित कार्यक्रममा उनले व्यवसाय दर्ता, नविकरण, राजश्व बुझाउने व्यवस्था एवं खारेजीका लागि प्रविधिको प्रयोग आवश्यक बताएका हुन् ।

सुझावका क्रममा अध्यक्ष ढकालले सरकारले हालै परिमार्जन गरेका कानुनहरुको सराहना गर्दै, त्यसको कार्यान्वयनका लागि आवश्यक नियमावली, कार्यविधि बनाइ सबै तहमा नियमावली कार्यान्वनको प्रत्याभूति दिलाउनुपर्ने बताए ।  ‘नीतिगत परिमार्जनले सकारात्मक सन्देश गएको छ, ’ उनले भने, ‘तर यसको कार्यान्वयनका लागि सुशासनको प्रत्याभूति सबैतिरबाट दिनुपर्छ ।’

नागरिक एपमा बिजनेस आइकन राखि सोही मार्फत सम्पूर्ण व्यवसायिक सेवा दिन सकिने व्यवस्था आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा व्यवस्था गर्नुपर्ने सुझाव महासंघको छ । स्मार्ट सेवाका नाममा सम्पूर्ण सरकारी सेवा चुस्तद्रुस्त पार्नुपर्ने महासंघको सुझाव छ ।

पछिल्लो २ वर्षको अवधिमा विदेशी लगानी कुल ग्राहस्थ उत्पादनको ०.२ प्रतिशतमा सिमित भएको हुँदा लगानीको श्रोत जुटाउन ‘नेपालमा लगानी अभियान’ नामक कार्यक्रम व्यापक रुपमा स्वदेश तथा विदेशमा सञ्चालन गरिनुपर्ने सुझाव पनि महासंघको छ । लगानी बोर्ड र उद्योग विभागलाई एक अर्कामा गाभेर पुर्नसंरचना आवश्यक छ । वान स्टप सेन्टरको पूर्ण कार्यान्वयनका लागि लगानीकर्ताले एक ठाउँमा फाइल बुझाएपछि अन्यत्र जान नपर्ने गरि व्यवस्था गर्नुपर्नेछ ।

हरेक वर्ष आर्थिक ऐन ल्याएर राजश्व सम्बन्धि कानुन परिवर्तन हुने क्रम रहेकोले यसको सट्टा एकिकृत कानुन संहिता निर्माण गरि सदनबाट पारित गर्नु आवश्यक छ । यसले बजेट मार्फत कार्यान्वयन हुने स्वेच्छाचारिता घटाइ नीतिगत स्थिरता कायम हुनेछ । विभिन्न कानुनले दिएको व्यवसायिक सुविधाको ग्यारेन्टी हुने हुँदा लगानी प्रोत्साहित हुनेछ ।

यसैगरि, छ महिनादेखि नेपालको बैंकिग प्रणालीमा ६ खर्ब रुपैया भन्दा बढि लगानीयोग्य रकम थुप्रिएको छ । तीन महिनामा ब्याजदर तीन प्रतिशत विन्दुले घटेको छ । तर पनि लगानीको माग भइरहेको छैन । केन्द्रिय बैंकले दुइ वर्ष अघि ल्याएको चालु पूँजी कर्जा मार्गदर्शन कर्जा निरुत्साहित गर्ने पहिलो नीति हो । बजारमा निराशा रहेका बेला यसलाई परिमार्जन गरिनु आवश्यक छ । मार्गदर्शनलाई कम्तीमा दुइ वर्ष स्थगित गर्ने वा यसको निर्णय बैंक र ऋणी आफैले गर्न सक्ने गरि सहज बनाउनुपर्छ ।

सहकारी एवं लघु वित्तमा आएको समस्याका कारण साना मझौला उद्यमीसम्म सहज रकम प्रवाहका लागि पुर्नकर्जा लगायतका सुविधा उपलब्ध गराउनुपर्छ । नेपाली अर्थतन्त्रको लाइफ लाइन रेमिट्यान्स हो । नेपाली बजारमा घटेको माग पूरा गर्नका लागि पर्यटकको आगमन बढाउनुका साथै निर्यात बढाउनु पनि त्यत्तिकै जरुरी छ ।

निर्यातको हकमा तत्काल खाडी मुलुकमा नेपाली कृषिजन्य उत्पादन र पानी निर्यात गर्न सकिने नीति तथा कार्यक्रमहरु आउनु पर्दछ । नेपालबाट दैनिक करिब १२ प्mलाइट मध्यपूर्व जाने गरेका छन । यी जाहाजमा नेपाली उत्पादन पठाउन एयरपोर्टमा कोल्डस्टोरेज, एक्स रे मेसिन र वेयर हाउस सुविधा उपलब्ध गराउनुपर्छ ।

व्यवसायी, कर्जा सुरक्षण निगम, सरकार र बिकास साझेदारहरु समेतले जोखिम बेहोर्ने गरि एक करोड रुपैयासम्मको कर्जा परियोजना धितोमा उपलब्ध गराउने व्यवस्था गर्नुपर्नेछ । यसबारे नेपाल उद्योग वाणिज्य महासंघले अध्ययन गरेको छ । यसैगरि स्टार्ट अप नेपाल, साना उद्यमी विकास कार्यक्रम र प्रविधिबाट समृद्धि कार्यक्रम अन्तर्गत उद्यमीहरुलाई सुविधा प्रदान गर्न पनि महासंघले सुझाव दिएको छ ।

भारतीय सिमा नजिकका हिलस्टेसनमा स्थापना हुने होटल रिसोर्ट, पोलिटेक्निकल इन्स्टिच्युट, अन्य शिक्षालय, शिक्षण अस्पताल लगायतलाई सुविधा दिइ भारतीय पर्यटक र अन्य लगानी पनि आकर्षित गर्न सकिने महासंघको सुझाव छ । बिजुलीलाई उद्योगहरुको कच्चा पदार्थको रुपमा उपलब्ध गराउने व्यवस्था गर्न र उद्योगहरुमा लोडसेडिंग गर्ने प्रवृत्ति रोक्न पनि महासंघले सुझाएको छ ।

मुल्य अभिवृद्धि कर बहु दरयुक्त प्रणालीमा जानको लागि व्यापक कर सचेतना, दक्ष जनशक्ति, प्रणालीगत पूर्वाधार लगायतका व्यापक व्यवस्थापकीय प्रवन्ध आवश्यक पर्ने भएकोले त्यसको लागि आवश्यक तयारी गर्न निजी क्षेत्र सम्मिलित कार्यदल बनाई तत्कालै कार्य प्रारम्भ गरिनु पर्दछ । आव ०८२/८३ को बजेट बाटै मुलुकको एकल दरको कारणबाट संचालन हुन कठिनाई भईरहेका केही वस्तु तथा सेवामा पाइल भन्ने काम को रुपमा घटाइएको दरको कार्यान्वयन शुरु गर्न नेपाल उद्योग वाणिज्य महासंघले सुझाब पेश गरेको छ ।

उत्पादनमूलक उद्योगमा लाग्दै आएको करलाई क्रमशः घटाइ पाँच वर्षमा ५ प्रतिशत विन्दुले कम गर्नु पर्दछ । यसैगरि आयकरको दर घटाउन र कर छुटको सिमा बढाउन पनि महासंघले सरकारको ध्यानाकर्षण गराएको छ । साफ्टाका कारण स्वदेशी उद्योगमा परेको प्रभाव समेतलाई ध्यानमा राखी स्वदेशी उद्योग प्रवर्द्धन हुने कर नीति आवश्यक रहेको महासंघको सुझाव छ । महासंघले सिथिल अर्थतन्त्र उकास्न सदस्यहरुसंग निरन्तर सुझाव संकलन गरिरहेको र सोही अनुसार सरकारसंग छलफल गर्नेछ ।

प्रकाशित मिति: ७ चैत्र २०८१, बिहिबार  १४ : २८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।