राष्ट्र बैंकका गभर्नर अधिकारी भन्छन्- ‘अनेक हस्तक्षेपका बीच कार्यकाल उपलब्धिमुलक रह्यो’


नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफ्नो ५ वर्षे कार्यकाल उपब्धिमुलक भएको बताएका छन् । शुक्रबार राष्ट्र बैंकमा पत्रकार सम्मेलनको आयोजना गर्दै गभर्नर अधिकारीले राष्ट्र बैंकको स्वात्ततामा ठाडो आक्रमण हुँदा पनि कार्यकाल सफलताका साथ पुरा गर्न पाएको बताएका हुन् ।

आफ्नो ५ वर्षे कार्यकाल पुरा गरेर बिदा भएका अधिकारीले कार्यकाल चूनौतीपुर्ण भए पनि सफल भएको बताएका हुन् । २०७६ साल चैत्र २५ गतेबाट गभर्नरको कार्यभार सम्हालेका अधिकारीले राष्ट्र बैंकको स्वायत्ततालाई जोगाउन सर्वोच्च अदालत, न्यायाधीश, अधिवक्ता तथा सबै सहयोगीहरुको भूमिकाप्रति धन्यवाद ज्ञापन गरेका थिए ।
सरकारबाटै राष्ट्र बैंकको स्वायत्ततामा प्रहार भएको र त्यसलाई बचाउन सर्वोच्च अदालतको भूमिका राम्रो रहेको बताएका उनले आफ्नो कार्यकालमा केन्द्रीय बैंकलाई विश्वव्यापी मान्यता तथा मर्मअनुरूप सञ्चालन गरेको दाबी गरेका थिए ।
कोभिड महामारीबाट प्रभावित अर्थतन्त्रको पुनरुत्थानका लागि यस बैंकले मौद्रिक नीतिको लचिलो कार्यदिशा अवलम्बन गरेको बताएका अधिकारीले रुस–युक्रेन युद्धका कारण मुलुकको अर्थतन्त्रमा ठूला चुनौति आइपरेपनि चुनौतीलाई सक्दो समाधानको पहल गरेको बताएका थिए ।

अधिकारीले आफ्नो कार्यकालमा वैदेशिक पूँजी लगानीको लागि बैंकबाट लिनुपर्ने दोहोरो स्वीकृतिलाई हटाइएको, वैदेशिक लगानी तथा ऋण आप्रवाहलाई सहजीकरण गर्ने अभिप्रायले दोहोरो स्वीकृतिलाई हटाइए बताएका थिए । विद्युतीय भुक्तानीको पूर्वाधार विकास, भुक्तानी उपकरणहरुमा सर्वसाधारणको पहुँच तथा विद्युतीय भुक्तानीका उपकरणको उपयोगमा उल्लेख्य वृद्धि हुँदै गएको बताएका उनले वित्तीय समावेशिता अभिवृद्धि गर्न यसले मद्दत गरेको बताएका थिए ।
वैदेशिक लगानी तथा ऋण आप्रवाहलाई सहजीकरण गर्ने अभिप्रायले वैदेशिक पूँजी लगानीको लागि केन्द्रीय बैंकबाट समेत लिनुपर्ने दोहोरो स्वीकृतिलाई हटाइएको बताएका उनले वैदेशिक ऋण सम्बन्धमा स्पष्ट, पारदर्शी र अनुमानयोग्य व्यवस्थाहरु गरिएको जानकारी दिए ।
“मुलुकभित्र गैरकानूनी धन आर्जनलाई शुद्धीकरण हुन नदिन प्रशस्त मात्रामा निरोधात्मक उपायहरु स्वरुप कानूनी नियामकीय व्यवस्था भएका छन् । कुनै पनि संस्था संरचनाहरु सम्पत्ती शुद्धीकरण र आंतककारी क्रियाकलापमा वित्तीय लगानीका माध्यमहरु नबनुन् भन्ने अभिप्रायका साथ यस सम्बन्धि व्यवस्थाहरु लागु गरिएको छ,” उनले भने ।
“केन्द्रीय बैंकको संस्थागत सुशासन सुदृढ गर्न, जोखिम व्यवस्थापन गर्न तथा बैंकको कार्यसञ्चालनलाई प्रभावकारी बनाउन थप व्यवस्था तर्जुमा गरिएका छन्,” अधिकारीले भने, “व्यवसाय निरन्तरता नीति तथा व्यवसाय निरन्तरता योजना तर्जुमा गरी लागु गरिएको छ ।”
पोलिसी, फ्रेमवर्क, मार्गदर्शन, निर्देशिका, म्यानुुअल र कार्यविधि लगायत ११६ वटा व्यवस्था आफ्नो कार्यकालमा जारी भएको बताएका अधिकारीले सो अवधिमा ११ वटा निर्देशिका, सातवटा म्यानुुअल र ४१ वटा कार्यविधि ल्याइएको बताए ।

प्रकाशित मिति: २२ चैत्र २०८१, शुक्रबार  १५ : ०७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।