कोसेरा खोलामा पुल निर्माण


म्याग्दी । रघुगंगा गाउँपालिका–८ कुइनेको कोसेरा खोलामा ‘स्टिल ट्रस’ प्रविधिको पुल निर्माण भएको छ । ३३ लाख २४ हजार १६७ रुपैयाँको लागतमा निर्माण भएको ३२ मिटर लामो पुलबाट १०० घरपरिवारका ४८५ जनसंख्या लाभान्वित भएका उपभोक्ता समितिका अध्यक्ष दिनेश छन्त्यालले जानकारी दिए ।

‘खोलामा बाढी आउँदा जोखिम मोलेर वारपार गर्नुपर्ने समस्या पुल बनेपछि हटेको छ,’ उनले भने, ‘अब ढुक्क भएर सुरक्षित रूपमा खोला वारपार गर्न पाइने भयो ।’

रघुगंगा गाउँपालिका, उपभोक्ता र झोलुंगे पुल क्षेत्रगत सहयोग कार्यक्रमको सहकार्यमा पुल निर्माण भएको हो । पुल निर्माणका लागि गैरसरकारी संस्था मिलन म्याग्दीले सामाजिक तथा प्राविधिक सहयोग गरेको थियो ।

रघुगंगा गाउँपालिकाले ४ लाख ७२ हजार ४७७ र झोलुंगे पुल क्षेत्रगत कार्यक्रमले ३० लाख ८९ हजार २७३ सहयोग गरेको पुल निर्माणमा उपभोक्ताले ७२ हजार ६८८ बराबरको श्रमदान गरेका छन् ।

जिल्लामा पुल निर्माणसम्बन्धी योजनाको सामुदायिक परिचालनको काम गर्दै आएको गैरसरकारी संस्था मिलनका अध्यक्ष दिलु बिटालुका अनुसार चालु आर्थिक वर्षको हालसम्म धवलागिरि गाउँपालिकामा २ वटा, रघुगंगा र बेनी नगरपालिकामा १/१ वटा झोलुंगे पुल निर्माण भएको छ ।

आर्थिक वर्ष २०८०/८१ मा ६ र आर्थिक वर्ष २०७९/८० मा ९ वटा झोलुंगे पुल निर्माण भएको थियो । मिलन म्याग्दीको अभिलेखअनुसार जिल्लाभर २९१ झोलुंगे पुल छन् ।

पुल निर्माण भएपछि खोलामा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हटेको, बाटोको दूरी छोटिएको, पर्यटक, स्थानीयवासी र विद्यार्थीलाई आवातजावतमा सहज भएको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए ।

 

प्रकाशित मिति: २४ चैत्र २०८१, आइतबार  १२ : २० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।