मंगलबार राप्रपाको सभा, यी ठाउँमा हुनेछ ट्राफिक डाइभर्सन


काठमाडौँ ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज काठमाडौँको बल्खुमा सभा गर्दैछ। पार्टीले संवैधानिक राजतन्त्र र हिन्दु राज्य पुनस्र्थापनाको मागसहित सभा गर्न लागेको हो। ११ बजेदेखि कलंकी, कालिमाटी, सातदोबाटो, कीर्तिपुर लगायतका स्थानबाट जुलुस निस्किन्छ र १२ बजेदेखि सभा सुरु हुने बताइएको छ ।

यस्तो छ सवारी पार्किङ र डाइभर्सनको व्यवस्था

प्रदर्शन अवधिलाई मध्यनजर गर्दै सवारी साधनलाई डाइभर्सनको व्यवस्था मिलाइएको छ ।

जस अनुसार खसिबजार–मकालु–कलंकी चोक–बाफलमा डाइभर्सको एउटा रुट तय गरिएको छ । त्यस्तै, बल्खु चोक–कुलेश्वर–कालिमाटी चोक हुँदै टेकुमा पनि डाइभर्सन गरिने बताइएको छ । कीर्तिपुर–सुन्दरीघाट–सानेपा हुँदै एकान्तकुनामा पनि सवारी डाइभर्सन गरिएको छ ।

आवश्यक परेको खण्डमा त्रिपुरेश्वर–बालाजु–हलचोक–नैकाप हुँदै सितापाईला र चोभार–फर्पिङ–नख्खु दोबाटो हुँदै कोटेश्वरतर्फ सवारी डाइभर्सन गरिने ट्राफिक प्रहरीले बताएको छ ।

कार्यक्रममा सहभागी हुन आउनेहरूका लागि त्रिभुवन विश्वविद्यालयको गेटदेखि चोभार सडक, सानेपा करिडोर सडक (दुवैतर्फ) र चोभार सुख्खा बन्दरगाहमा पार्किङको व्यवस्था मिलाइएको छ ।

नयाँबसपार्क र सितापाईला–बाफल सडकखण्डमा एक लाइन पार्किङको व्यवस्था मिलाइएको छ ।

प्रकाशित मिति: २६ चैत्र २०८१, मंगलबार  ०९ : २० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।