पूँजी बजार सम्बन्धि निबन्ध प्रतियोगिताका विजेता अनुहार यस्ता छन्


नेपाल धितोपत्र बोर्ड कर्मचारी यूनियनद्वारा आयोजित पूँजीबजार सम्बन्धी पहिलो राष्ट्रिय निबन्ध प्रतियोगिताको नतिजा प्रकाशन भएको छ । विश्व लगानीकर्ता सप्ताहको अवसरमा आयोजित पूँजीबजार सम्बन्धी पहिलो राष्ट्रिय निबन्ध प्रतियोगिताका विजेताहरु छनौट गरिएको हो ।

स्वतन्त्र निर्णायक समूहको मुल्याङ्कन तथा सम्पादन समूहको मुल्याङ्नका आधारमा इन्स्टिच्युट अफ एडभान्स कम्युनिकेशन एण्ड रिसर्चमा एमफिलमा अध्ययनरत एकता अवस्थीको महिला शक्तिकरण र पूँजीबजार शिर्षकको निबन्ध उत्कृष्ट भएको छ । प्रतियोगितामा अर्जुन बहादुर पाठक द्वितिय तथा उज्जल घिमिरे तृतीय भएका छन् । यस्तै युवराज दहाल, सुजन बाबु अधिकारी, कपिल श्रेष्ठ र कविता कार्कीले सान्त्वना स्थान प्राप्त गरेका छन् ।

प्रतियोगितामा प्रथम हुनेलाई २० हजार नगद तथा सम्मान पत्र, द्धितिय हुने सहभागीलाई १५ हजार नगद तथा सम्मानपत्र, तृतीय हुने सहभागीलाई १० हजार नगद तथा सम्मान पत्र साथै सान्त्वना स्थान पाउने चार जनालाई प्रोत्साहन पुरस्कार स्वरुप जनही ५ हजार रुपैंया र सम्मानपत्र पुरस्कारको व्यवस्था गरिएको छ ।

निबन्ध प्रतियोगितामा देशभरका स्कुल, कलेज तथा विश्वविद्यालयमा स्नातकोत्तररदर्शनाचार्य तहसम्म अध्ययनरत विद्यार्थीहरूलाई सहभागीताका लागि आह्वान गरिएको थियो । प्रतियोगिताका लागि विभिन्न छ बटा बिषयहरू दिइएकोमा सहभागीले आफूलाई उपयुक्त लागेको कुनै एक बिषय छनौट गरी सहभागिता जनाउन सकिने व्यवस्था गरिएको थियो । देशभरका स्कुल, कलेज तथा विश्वविद्यालयमा विभिन्न तहमा अध्ययनरत ८३ जना विद्यार्थीहरूले प्रतियोगितामा सहभागिता जनाएका थिए ।

प्राप्त निबन्धहरूलाई आन्तरिक रूपमा रहेको सम्पादन समूहबाट पहिलो चरणमा उत्कृष्ट ५० निबन्ध छनौट गरीएको थियो भने दोस्रो चरणमा उत्कृष्ट २५ निबन्ध (समान अंकका कारण २७) छनौट गरी स्वतन्त्र निर्णायकको समूहलाई मूल्याङ्कनका लागि पठाइएको थियो । निर्णायक समूहको संयोजन त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायका डिन प्रा.डा. कुसुम शाक्यले गरेकी थिइन् । सदस्यहरूमा वरिष्ठ पत्रकार प्रकाश अधिकारी र रिलायन्स लाइफ इनस्योरेन्सका प्रमुख कार्यकारी अधिकृत तथा मण्र्चेट बैंकर एसोसियसनका पूर्व अध्यक्ष प्रविण रमण पराजुली थिए ।

प्रतियोगिताका उत्कृष्ट ५० निबन्ध (समान अंकका कारण ५४) निबन्धलाई पुस्तकका रूपमा प्रकाशन गर्न लागिएको छ । उक्त पुस्तकको विमोचन कार्यक्रम तथा पुरस्कार वितरण कार्यक्रम केही समय पश्चात उपयुक्त समयमा गरिने कर्मचारी यूनियनले जनाएको छ ।

नेपाल धितोपत्र बोर्डमा कार्यरत कर्मचारीहरूको आधिकारिक यूनियन नेपाल धितोपत्र बोर्ड कर्मचारी यूनियनले विश्व लगानीकर्ता सप्ताहको अवसरमा प्रतियोगिता आयोजना गरेको हो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।