विदेश पढ्न जाने नेपालीले लगे १ खर्ब ३ अर्ब ८४ करोड


काठमाडौँ । चालु आर्थिक वर्ष २०८१\८२ को ९ महिना (साउन–चैत) सम्म नेपाली विद्यार्थीले १ खर्ब ३ अर्ब ८४ करोड रुपैयाँ विदेश लगेका छन् । गत वर्षको सोही अवधिसम्म वैदेशिक अध्ययनमा ९५ अर्ब ८५ करोड रुपैयाँ विद्यार्थीसँगै बाहिरिएको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार चैतसम्म सेवा खाता अन्तर्गत भ्रमण व्यय १ खर्ब ७० अर्ब ३९ करोड पुगेको छ । जुन गत आव सोही अवधिको तुलनामा १९ प्रतिशत धेरै हो । यसमध्ये शिक्षाको हिस्सा अधिक छ । नेपालबाट विदेश घुम्न जानेले ९ महिना अवधिमा ६६ अर्ब ५५ करोड विदेशी मुद्रा खर्च गरेका छन् ।

उता नेपाल घुम्न आउने विदेशी नागरिकबाट नेपालले ६६ अर्ब ५४ करोड आम्दानी गरेको छ ।

९ महिनामा करिब १२ खर्ब रेमिट्यान्स संकलन

चालु आर्थिक वर्षको ९ महिना (साउन–चैत) मा करिब १२ खर्ब रुपैयाँ रेमिट्यान्स संकलन भएको छ । वैदेशिक रोजगारीमा जानेको संख्या लगातार बढ्दा रेमिट्यान्स पनि बढ्दै गएको हो । गत आर्थिक वर्ष २०८०÷८१ को तुलनामा रेमिट्यान्स १० प्रतिशतले बढको छ । नौ महिनामा ११ खर्ब ९१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स संकलन भएको हो ।

नौ महिनामा वैदेशिक रोजगारीमा अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ३ लाख ५८ हजार २२२ पुगेको छ । गत आवको चैतसम्म यस्तो संख्या ३ लाख २७ हजार ८४२ थियो । यस्तै पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ४९ हजार ६५२ रहेको छ । गत आवमा यस्तो संख्या २ लाख ११ हजार २२६ रहेको राष्ट्र बैंकले जनाएको छ । फागुन मसान्तमा १० खर्ब ५१ अर्ब ७७ करोड रुपैयाँ रहेको रेमिट्यान्स एक महिनामा १ खर्ब ५१ अर्ब ७७ करोड रुपैयाँले बढेको हो ।

प्रकाशित मिति: २९ बैशाख २०८२, सोमबार  १२ : २९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।