दशैं पछि खुलेको बजार केही बेरमै दोहोरो अंकले बढ्यो, बैंकिङ सूचकमा उछाल


दशैं पछि पहिलो पटक खुलेको शेयर बजारमा तिब्र सुधार देखिएको छ । प्रि ओपनिङ सेसनदेखि चलेको कारोबारले बजार परिसुचक नेप्से दोहोरो अंकले बढेको छ ।

नियमित कारोबार सुरु भएको १० मिनेटमा बजार परिसुचक नेप्से १४.८५ अंकले बढेर १६२१.१० अंकमा उक्लिएको छ ।

यस अवधिमा ५९ कम्पनीका २ लाख २६ हजार ३७८ कित्ता शेयरहरु २ हजार ३१२ पटक किनबेच हुँदा ६ करोड ८३ लाख २५ हजार रुपैंयाको कारोबार भएको छ ।

बुधबारको कारोबारमा वाणिज्य बैंक समुहमा तिब्र उछाल देखिएको छ ।

वाणिज्य बैंक सूचक २४.२२ अंकले बढेको बजारमा लघुवित्त र वीनव बीमा कम्पनीका सूचक बाहेकका सबै सूचक उकालो लागेका छन् ।

नेपाल फाइनान्सको शेयर मूल्य सबैभन्दा धेरै बढेको बजारमा सिटिजन्स बैंक, युनिभर्सल पावर कम्पनी, ग्लोबल आईएमई बैंक, हिमालयन बैंक, नेपाल एसबिआई बैंक, प्राइम कमर्शियल बैंक, प्रभु बैंक, सनराइज बैंक लगायतको शेयरमूल्य धेरै बढेको छ ।

यस अघि देखिएको बजार वृद्धिमा वाणिज्य बैंक बाहेकका उपसमुहमा धेरै सुधार देखिँदै आएकोमा बैंकहरुले औषतमा राम्रो प्रतिफल घोषणा गर्न थालेका कारण लगानीकर्ता त्यतै मोडिएका हुन् ।

केही वाणिज्य बैंकहरुले गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई बितरण गरिने लाभांस प्रस्ताव गरिसकेका छन् भने धेरैले गर्न बाँकी छ ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।