कुमारी बैंकले ल्यायो ‘फोनलोन’, किनमेल गर्दा सिधै १ लाखसम्म कर्जा


कुमारी बैंक (KBL) ले ‘फोनलोन’ नामक नयाँ कर्जा सुविधा सञ्चालनमा ल्याएको छ ।

बैंकले आफ्ना सेवाहरुलाई डिजिटल मैत्री बनाउँदै ग्राहकहरुलाई सरल र सहज किसिमका सेवा प्रदान गर्ने उद्धेश्यले यस्तो कर्जा सुविधा ल्याइएको जनाएको छ ।

कुमारी बैंकमा तलब खाता संचालन गरिरहेका ग्राहकहरुले अधिकतम ३० दिनसम्मका लागि अधिकतम १ लाख रुपैंयासम्मको कर्जा मोबाइल बैंकिङबाट लिन पाउने छन् ।

बैंकको माबाइल एप कुमारी स्मार्ट मोबाइल बैकिङ्गबाट फोनलोन सुविधा सहजै प्राप्त गर्न सकिने बताएको बैंकले कर्जाको लागि धितोको आवश्यकता नपर्ने जनाएको छ । साथै कुनै निवेदन दिन र कानूनी कागजात गरीरहनु नपर्ने पनि बैंकले जनाएको छ ।

मोबाइल एपबाट सिधै एक लाख रुपैंयासम्मको रकम एक महिना अवधिसम्म चलाउन सकिने भएकाले धितो राख्ने तथा अन्य प्रकृयामा जानु नपर्ने भएको बैंकले जनाएको छ ।

चाड पर्वको समयमा आवश्यक पर्ने खर्च व्यवस्थापन गर्न फोनलोन सुविधा ल्याइएको जनाउँदै बैंकले तलबी खातावाहकहरु यसबाट लाभान्वित हुने विश्वास लिएको छ ।

यो सुविधा लिनका लागि तलबी खाता भएकाहरुहरुले कुमारी बैंकको मोबाइल एप कुमारी स्मार्ट डाउनलोड गरी मोबाइल नम्बर र खाता नम्बरका आधारमा घरमै बसेर सेवा सुचारु गराउन सक्छन् ।
बैंकले देशभर १८४ शाखा, १४४ एटिएम, २१ शाखारहित बैंकिंग इकाई तथा १३ एक्टेन्सन काउन्टर मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।