आगामी आवको बजेट यथार्थपरक छ : अर्थमन्त्री


काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२\८३ को बजेट यथार्थपरक भएको बताएका छन् ।

इकोनोमिक मिडिया सोसाइटीले आगामी आवको बजेटका सम्बन्धमा आयोजित छलफल कार्यक्रममा उनले आफूले लोकप्रियभन्दा पनि यथार्थमा आधारित भएर बजेट निर्माण गरेको बताए ।

“नेकपा (एमाले) बाट बनेको अर्थमन्त्री हुँदा लोकप्रिय बजेट ल्याउँछ भन्ने मानसिकता छ, तर यसपटक मैले लोकप्रियताको खोजीभन्दा पनि यथार्थपरक बजेट बनाउने प्रयास गरेको छु”, अर्थमन्त्री पौडेलले भने, “के गर्दा लोकप्रिय भइएला भन्दा पनि के गर्दा अनुशासित भइएला, स्रोत व्यवस्थापनको दायरा कसरी बढाउन सकिएला र खर्च व्यवस्थापन गर्न सकिएला भन्ने सोचमा केन्द्रित भइ बजेट निर्माण गरेको छु।”

उनले बजेट सम्बन्धमा आएका सबै विचारलाई आफूले सम्मान गर्ने उल्लेख गरे। “बजेटका स्रोत व्यवस्थानका सीमालाई ख्याल गरेर बजेट निर्माण गरिएको छ। अनिवार्य दायित्वको आकार बढेको छ तर त्यसको पनि व्यवस्थापन गरिएको छ र विकासका लागि प्राथमिकताका आधारमा स्रोत व्यवस्थापन पनि गरिएको छ”, उपप्रधानमन्त्री पौडेलले भने।

उनले निजी क्षेत्रको मनोबल बढाउने, लगानीका क्षेत्र बढाउने गरी बजेट आएको दावी गरे।

“आगामी आवको बजेट कार्यान्वयनसँगै अर्थतन्त्र चलायमान बन्छ, अर्थतन्त्रमा गतिशिलता बढाउनेछ भने उत्पादन बढाउन र रोजगारी सृजनामा पनि काम गर्नेछ”, अर्थमन्त्री पौडेलले भने।

आफू बजेटबारे आएका प्रतिक्रियाबाट आशावादी बनेको उल्लेख गर्दै उनले अब आफ्नो कर्तव्य बजेट कार्यान्वयन भएको उल्लेख गरे।

प्रकाशित मिति: २० जेष्ठ २०८२, मंगलबार  ०७ : ०८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।