दैलेखको नारायण नगरपालिका बन्यो प्रदेशकै पहिलो अप्टिकल फाइबर बिस्थापित गर्ने नगरपालिका


नेपाल टेलिकमले दैलेख जिल्लाको सदरमुकाम नारायण नगरपालिकामा अवस्थित पुरानो तामाको तारबाट सञ्चालित सम्पूर्ण टेलिफोनको नेटवर्कलाई अप्टिकल फाइबरबाट विस्थापित गरेको छ । टेलिकमले टेलिफोन तथा इन्टरनेट नेटवर्कलाई अप्टिकल फाइबरबाट विस्थापित गरेको जनाएको छ ।

गत कात्तिक १५ गते स्तरोन्नती सम्पन्न भएपश्चात् सो क्षेत्रका सबै नेटवर्कलाई फाइबर टु द होम (एफटीटीएच) मार्फत सञ्चालन गरिएको छ । योसँगै पुरानो नेटवर्कलाई पूर्ण रुपमा नयाँ अप्टिकल फाइबर नेटवर्कबाट विस्थापित गरिएको नारायण नगरपालिका कर्णाली प्रदेशको पहिलो नगरपालिका भएको छ ।

हाल सो क्षेत्रमा जम्मा १०२४ लाइन एफटीटीएच नेटवर्क क्षमता छ । पुरानो तामाको तार अर्थात कपरबाट सञ्चालित करिब ४१५ लाइन एफटीटीएचमा रुपान्तरण गरिएका छन् भने नयाँ १०६ लाइन समेत वितरण गरिएको छ । सो नगरपालिकामा एफटीटीएच लाइन प्रयोगकर्ताको संख्या ५२१ पुगेको छ । यसले नारायण नगरपालिका अन्तर्गतको बजारको सबै भागलाई समेटेको छ ।

यसै वर्ष दैलेखको दुल्लुमा पनि एफटीटीएच सेवा विस्तार गर्ने कार्यक्रम रहेको टेलिकमले जनाएको छ । टेलिकमले मुलुकका विभिन्न शहरी र घना बसोबास भएका क्षेत्रमा एफटीटीएच सेवाको वृहत विस्तारका लागि आवश्यक पूर्वाधार निर्माणका साथै सेवा वितरणमा पनि जोड दिइरहेको छ ।

एफटीटीएच सेवाको माध्यमबाट इन्टरनेट सेवा तथा आईपी प्रविधिमार्फत चल्ने भ्वाइस टेलिफोन सेवा समेत प्रयोग गर्न सकिन्छ । त्यसैगरी केही समयमा यसै प्रणालीमार्फत आइपी टिभी (इन्टरनेट प्रोटोकल टेलिभिजन सेवा) समेत उपलब्ध हुनेछ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।