काठमाडौँ । यार्सागुम्बा उत्पादन हुने मुलुकमा नेपाल दोस्रो स्थानमा पर्छ । यार्सागुम्बा प्रायः हिमाली स्थानमा पाइने औषधिजन्य वनस्पति हो । यार्सागुम्बाबाट विभिन्न औषधि पनि बनाइन्छ ।
यसको उत्पादन र संकलन तथा संरक्षण गर्न सकेमा राम्रो सम्भावनाको क्षेत्र भएको जानकारहरू बताउँछन् । यसको निर्यातबाट समग्र मुलुकको अर्थतन्त्रलाई नै गति प्रदान गर्ने विश्वास लिइएको छ ।
तर, यसको उत्पादन तथा निर्यातमा सरकारले आवश्यक पहलकदमी र सहजीकरण नगरेको यसको संकलन तथा बिक्री गर्दै आएका व्यक्तिहरूको गुनासो छ ।
३ प्रश्नको आजको अंकमा हामीले नेपाल यार्सागुम्बा संघका अध्यक्ष निराजनबहादुर चलाउनेसँग कुरा गरेका छौँ ।
-
अहिलेको अवस्थामा यार्सागुम्बाको उत्पादन कस्तो छ ?
विश्वमा यार्सागुम्बा उत्पादन हुने मुलुकहरूमा नेपाल दोस्रो स्थानमा पर्छ । व्यवस्थित सर्भेको अभावमा नेपालमा वार्षिक कति यार्सागुम्बा उत्पादन हुन्छ भन्ने एकिन छैन ।
पछिल्लो समय उच्च लेकाली भेगहरूमा पनि यार्सा भेटिएका छन्, जुन उच्चकोटिका यार्सागुम्बाभित्र पर्छन् । तर, देशको परिदृश्यमा हेर्दा जुन हिसाबको उत्पादन भइरहेको छ, त्यो एकदम तल गइरहेको छ । सरकारले यसलाई व्यवस्थित गर्न नसकेकै अवस्था छ ।
यसमा वातावरणले पनि धेरै कुरा फरक पारेको छ । यसलाई चाहिने आवश्यक मल पुग्न सकेको छैन, यसलाई बढाउनुपर्ने छ । पछिल्लो समय पाल्पामा पनि यार्सा भेटिएको छ । यो पनि एकदम उत्कृष्ट खालको यार्सा हो ।
विशेष गरी यो डाँडापाखा र हिमालहरूमा पाइन्छ । तर, व्यवस्थित गर्न सकेको अवस्था छैन । नेपालमा गर्न सकियो भनै सबैभन्दा मूल्यवान् उत्पादन यार्सा नै हो । आजको दिनमा शुद्ध यार्सा भयो भने यसको निर्यात एकदम बढी मात्रामा हुन्छ ।
तर पछिल्लो समय चीन र भारतले वातावरण अनुकूल बनाएर वंशाणुबाट यार्सा उत्पादन गर्न थालिसकेका छन् । कृत्रिम रूपमा उत्पादन गरेर यी मुलुकहरू ठुलो मात्रामा निर्यातकर्ता बनिसकेका छन् । हाम्रोमा भने प्राकृतिक वरदानलाई पनि व्यवस्थित गर्न सकिएको छैन । यो ठुलो बिडम्बना हो ।
-
बजारको सम्भावना र अवस्था कस्तो छ ?
नेपालमा प्रत्येक वर्ष यार्साको निर्यातमा उतारचढाव हुन्छ । आर्थिक वर्ष सन् २०११/१२ मा १२ करोड ६९ लाख रुपैयाँ बराबरको यार्सा निर्यात हुँदा आर्थिक वर्ष २०२३/२४ मा पुग्दा ७० करोड १९ लाख रुपैयाँ बराबरको निर्यात भएको छ । नेपालबाट यार्सागुम्बा सबैभन्दा बढी हङकङ निर्यात हुने गरेको छ भने त्यसपछि चीन, कम्बोडिया, भियतनाम, सिंगापुर, संयुक्त राज्य अमेरिका आदि देशहरूमा निर्यात हुने गरेको छ । नेपालमा पनि पछिल्लो समय औषधिका रूपमा यसको प्रयोग गर्ने क्रम बढेको छ ।
बजारको अवस्था हेर्दा अहिले सरकारले जुन हिसाबले सीधै ठुलो मात्रामा विदेशी रकम ल्याउन नपाउने नीति बनाएको छ, यसले पनि ठुलो असर परेको छ । यो नेपाली बजारमा बिक्री हुने भन्दा पनि बढी निर्यात हुने गर्छ । यसरी कम मात्रामा विदेशी मुद्रा ल्याउन पाउने नीतिले पनि एकदम असर गरेको छ ।
नेपाली बजारमा पनि विभिन्न औषधीय प्रयोजनका लागि बिक्री हुन्छ । हामीले यसलाई राम्रोसँग व्यवस्थित गर्न सकेमा अर्थतन्त्रमा ठुलो योगदान गर्छ । प्रकृतिले हामीलाई तिमीहरू गरिखाऊ भनेर दिएको छ, तर हामीले गर्न सकेका छैनौँ ।
यार्साको अन्तर्राष्ट्रिय बजार एकदम ठुलो छ । हाम्रो उत्पादनले बजारको पूर्ति गर्न सक्दैन । हामीले कसरी उत्पादन बढाएर निर्यात बढाउने भनेर गम्भीर भएर सोच्नुपर्छ । हामी सानो बजारमा अलमलिएको अवस्था छ । यस्तो प्रवृत्तिले न स्थानीय संकलनकर्ताले पैसा पाउन सकेका छन्, न व्यवसायीले र न त सरकारले नै यसमा राम्रोसँग राजस्व उठाउन सकेको छ ।
-
यसमा भएका समस्या के–के हुन् ? सरकारले के गर्नुपर्छ ?
अन्तर्राष्ट्रिय बजार विशाल भए पनि संकलन, उत्पादन, भण्डारण र निर्यात प्रवद्र्धन जस्ता समस्या छन् । संकलनकर्ताले यथोचित पारिश्रमिक पाउन सकेको छैनन् । व्यवसायीले पनि अपेक्षित लाभ र सरकारले लक्षित राजस्व संकलन गर्न सकेको छैन ।
सरकारले यार्सागुम्बासम्बन्धी नीति बनाउनुपर्छ । विश्वमै उच्च गुणस्तरको प्राकृतिक उत्पादनको संरक्षण, संकलन र निर्यातलाई व्यवस्थित गर्नुपर्छ । यसका लागि सरकारले निकाय तोकेर यसको विकास गर्न एकदम जरुरी छ ।
नेपाली यार्सागुम्बालाई अन्तर्राष्ट्रिय स्तरमा नेपाली नाममा ब्रान्डिङ र स्टान्डर्ड लेबलिङ गर्नुपर्छ । यसको विषयमा उल्लेख्य मात्रामा प्रचारप्रसार गर्नुपर्छ । जमिन, माटो तथा जलवायुको अध्ययन गरी प्राकृतिक रूपमा उत्पादन विस्तार गर्नेतर्फ योजनाबद्ध र संगठित रूपमा निजी क्षेत्रको समेत सहकार्यमा काम सुरु गर्नुपर्छ । सरकारले सुपरीवेक्षणसहितको संरक्षणको कार्यक्रम पनि समानान्तर रूपमा सञ्चालन गर्नु आवश्यक छ ।
सुरक्षित र सुविधाजनक संकलनका लागि संकलकहरूलाई आवश्यक औषधिपानी, सुलभ खाद्यान्न र आपतकालीन उद्धार, पूर्वसूचना प्रणाली तथा सञ्चार सेटहरू उपलब्ध गराउनुपर्छ ।
यस्तै यार्सागुम्बाको संकलन गर्न आचारसंहिता तर्जुमा गरी कार्यान्वयन गर्नुपर्छ । यार्सागुम्बाको संकलन, भण्डारण, ओसारपसार गर्न तालिम योग्यता निर्धारण गर्ने, यार्सागुम्बाको दिगोपन कायम गर्न यार्सागुम्बाको संकलन क्षेत्रहरू तोकी कोटा निर्धारण गर्ने, यार्सागुम्बाको संकलन, ओसारपसार, भण्डारण र वितरणमा सुरक्षाको प्रत्याभूति हुने गरी सुरक्षा निकायको परिचालन गर्ने, यार्सागुम्बामा हुने गुण र तत्वहरू कायम हुने गरी तापक्रम कायम गर्न लामो समयसम्म भण्डारण गर्न मिल्ने गरी यार्सागुम्बाको संकलन हुने प्रमुख केन्द्रहरूमा मिनी भण्डारण गृहहरूको निर्माण गर्ने काम गर्न आवश्यक छ ।
साथै वैज्ञानिक आधारमा यार्सागुम्बाको महत्वको खोजी गर्न, प्राकृतिक वातावरणमा यार्सागुम्बाको उत्पादन विस्तार गर्न वनस्पति विभागसँगको समन्वय र सक्रियतामा निजी क्षेत्र, आयुर्वेदिक संस्थान र उद्योगहरू सहित यार्सागुम्बाको दिगो विकास गर्न यार्सागुम्बा अनुसन्धान र विकास गर्ने पृथक संस्थागत संरचना निर्माण गर्ने, यसमा सरकारले सम्बन्धित निकायहरूलाई सुपरीवेक्षण गर्न खटाउनुपर्छ ।
आवश्यक परीक्षणका लागि ल्याब बनाउनुपर्छ । यार्सागुम्बा उत्पादन हुने स्थानहरूमा चिस्यान केन्द्रको व्यवस्था गर्नुपर्छ । यसलाई हामीले सुरक्षित राख्न सकिएन भने यसमा ढुसी लाग्छ र पछि काम नलाग्ने भएर जान्छ ।
प्रतिक्रिया