काठमाडौँ । यो वर्षको मनसुनमा सरदरभन्दा बढी पानी पर्ने जल तथा मौसम विज्ञान विभागको आकलन छ । बढी वर्षा भएसँगै मनसुनजन्य विपद्का घटना पनि बढ्ने चेतावनी विज्ञहरूले दिइरहेका छन् ।
नेपालमा हिमाल तथा पहाडमा बाढीपहिरो तथा तराई बाढी र डुबानको जोखिम उच्च हुने गरेको छ । वर्षा सुरु हुन नपाउँदै रसुवामा आएको बाढीले वितण्डा मच्चाएको छ ।
१ दिनको बाढीले कतिको क्षति भयो भन्ने पूर्ण विवरण आउन नसके पनि सयौँको संख्यामा गाडी बगाएको छ । साथै ११ जनाले ज्यान गुमाएको पुष्टि भएको छ भने धेरै मानिसहरू हराइरहेका छन् ।
यस्तो समयमा राज्यको विपद् पूर्वतयारी कस्तो छ भन्ने आमचासोको विषय बनेको छ । यदि राम्रोसँग पूर्वतयारी र सावधानी अपनाउन सकेमा धेरै हदसम्म धनजनको क्षति कम गर्न सकिन्छ ।
३ प्रश्नको आजको अंकमा हामीले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता सुरेश सुनारसँग कुरा गरेका छौँ ।
-
मनसुन फैलिँदै जाँदा देशभर विपद्को जोखिम पनि बढ्दै भएको छ । राज्यको तर्फबाट कस्तो पूर्वतयारी छ ?
सम्बन्धित निकायहरूलाई स्रोतसाधनसहित जिम्मेवारीमा जुट्न कार्ययोजना नै बनाएर स्पष्ट निर्देशन गरिएको छ । मनसुन पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी बनेको राष्ट्रिय कार्ययोजनाले सबै निकायको भूमिका निर्दिष्ट गरेको छ ।
३ वटै सुरक्षा निकायहरू तयारी अवस्थामा छन् । पालिकाहरूलाई पनि संघीय मामिला मन्त्रालयमार्फत् कार्ययोजना बनाएर समन्वय गरिएको छ । सम्बन्धित स्थानीय प्रशासनको नेतृत्वमा जिल्लामा जिल्ला विपद् व्यवस्थापन समिति पूर्ण रूपमा सक्रिय भएर काम गरिराखेको छ । पूर्वतयारी र प्रतिकार्यको सन्दर्भमा यिनै कुराहरू भएका छन् ।
-
यसपालिको मनसुनमा त बढी वर्षा हुने अनुमान गरिएको छ । पुनर्निर्माणको योजना, जोखिम बस्तीहरू स्थानान्तरणलगायत विषयमा कस्तो तयारी अथवा पहलकदमी छ ?
मनसुनको समयमा मुख्य रूपमा पूर्वतयारी र प्रतिकार्यमा नै ध्यान दिइएको छ । पुनर्निर्माणको विषय पछिको पाटो हो । त्यसमा पनि कार्ययोजना बनाएर कसले के गर्ने, के गर्न सकिन्छ, कसरी गर्ने भन्ने विषयमा कार्ययोजना बनेको छ । जोखिमयुक्त बस्तीहरूमा आवश्यक सतर्कता र सावधानी अपनाउन पूर्वसूचना दिइएको छ । यसमा सम्बन्धित स्थानीय तह र प्रहरीले पनि समयमै सूचना दिने काम गरिरहेका छन् ।
कतिपय स्थानमा आफ्नो आफन्तको घरमा गएर बस्ने काम भइरहेको छ । यस विषयमा स्थानीय तह र स्थानीय प्रशासनले पनि उपयुक्त निर्णय लिएर काम गरिरहेका छन् ।
-
विपद् जोखिम न्यूनीकरणका लागि सार्वजनिक–निजी साझेदारी पनि गरिएको छ कि ?
यसमा सार्वजनिक–निजी साझेदारी भइरहेको छ । विभिन्न संघसंस्थाहरूसँग हामीले पनि बसेर छलफल गरेका छौँ । खोज र उद्धारमा हेलिकोप्टर प्रयोगका लागि निजी वायु सेवा सञ्चालक संघहरूले सहयोग गरिराख्नुभएको छ ।
काठमाडौँमा निःशुल्क सहयोग गर्न प्रतिबद्धता गरेका छन् । सार्वजनिक निजी साझेदारीले पूर्वतयारीलाई व्यावसायिक, दिगो र प्रभावकारी बनाउँछ । सरकारको नीति, योजनाको नेतृत्व र निजी क्षेत्रको स्रोतसाधन तथा सीपले मिलेर विपद् व्यवस्थापन अझ सशक्त हुन्छ ।
अरू एजेन्सीहरूले सामाजिक उत्तरदायित्वको फन्डमार्फत् सहयोग साझेदारी गरिरहेका छन् । राहतका विषयहहरूमा निजी क्षेत्र जहिले पनि अगाडि आउने गरेको छ । यी सबै कामहरू भइरहेकै छन् ।












प्रतिक्रिया