निजी क्षेत्रमा हुने कर्जा प्रवाहमा वृद्धि, ऋण सुरक्षणमा घरजग्गाकै वर्चस्व


काठमाडौँ । लामो समयदेखि सुस्त रहेको अर्थतन्त्रमा केही सुधारका संकेतहरू देखिएका छन् ।

राष्ट्र बैंकले गत मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा हुने कर्जा प्रवाहमा वृद्धि भएको देखाएको छ । जसले आर्थिक गतिविधि चलायमान भएको देखाउँछ ।

राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ११ महिनामा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाह हुने कर्जा ४ खर्ब ७ अर्ब ६२ करोड रुपैयाँ (८ प्रतिशत) ले बढेको छ ।

गत वर्षको सोही अवधिमा यस्तो कर्जा प्रवाह केवल २ खर्ब ४६ अर्ब ८० करोड रुपैयाँ (५.१ प्रतिशत) मात्र थियो । यसले गत वर्षको तुलनामा कर्जा प्रवाहमा वृद्धि भएको देखाउँछ ।

प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७७/७८ मा लगभग २६ प्रतिशत रहेको निजी क्षेत्रको कर्जा वृद्धिदर त्यसपछिका वर्षहरूमा तीव्र रूपमा घटेको देखिन्छ । आर्थिक वर्ष २०७८/७९ मा आएर निजी क्षेत्रमा कर्जा प्रवाह १५ प्रतिशत पुगेको थियो ।

आर्थिक वर्ष २०७९/८० मा यो वृद्धिदर २ देखि ३ प्रतिशतको हाराहारीमा खुम्चिएको थियो । त्यसपछिका वर्षहरूमा क्रमिक सुधार आउँदा आर्थिक वर्ष ८०/८१ मा आएर निजी क्षेत्रमा कर्जा प्रवाह वृद्धिदर ५ प्रतिशतमा पुगेको देखिन्छ ।

चालु आर्थिक वर्षमा वृद्धिदर ८ प्रतिशत पुग्नु अर्थतन्त्रमा सुधारको संकेत भएको अर्थविद् डिल्लीराज खनालको भनाइ छ । उनका अनुसार अर्थतन्त्रमा सुधारको संकेत देखिए पनि अझै ढुक्क हुने अवस्था भने आउन सकेको छैन ।

यस्तै, क्षेत्रगत आधारमा हेर्दा सबैभन्दा बढी यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रमा कर्जा प्रवाह १३.५ प्रतिशतले बढेको छ । निर्माण क्षेत्रतर्फको कर्जा प्रवाह १२.९ प्रतिशत, उपभोग्य क्षेत्रतर्फ १०.९ प्रतिशतले कर्जा प्रवाह बढेको छ । यस्तै सेवा उद्योग क्षेत्रतर्फको कर्जा प्रवाह ८.८ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ८.२ प्रतिशत र थोक तथा खु्द्रा व्यापार क्षेत्रतर्फको कर्जा प्रवाह ५.२ प्रतिशतले बढेको छ ।

चालु आर्थिक वर्षमा पनि घरजग्गा धितो सुरक्षणमा प्रवाह हुने कर्जाले वर्चस्व कायम गरेको छ । यो अवधिमा कुल कर्जामध्ये ६५ प्रतिशत कर्जा घरजग्गा धितोमा प्रवाह भएको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा घरजग्गा धितोमा प्रवाह हुने कर्जा ६८.५ प्रतिशत थियो । यसले अझै पनि नेपालको बैंकिङ प्रणालीमा ऋण सुरक्षणका लागि घरजग्गा नै प्रमुख आधार रहेको देखाउँछ ।

कुल कर्जामध्ये ६३ प्रतिशत संस्थागत र ३७ प्रतिशत व्यक्तिगत तथा घरपरिवार क्षेत्रमा प्रवाह भएको तथ्यांकमा उल्लेख छ ।

समग्रमा कर्जा प्रवाहमा देखिएको यो सुधारले अर्थतन्त्रलाई गतिशील बनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ । अर्थतन्त्रमा केही आसलाग्दो अवस्था देखिए पनि दीर्घकालीन रूपमा आर्थिक वृद्धि हासिल गर्न पर्याप्त नभएको अर्थविद्हरू बताउँछन् ।

प्रकाशित मिति: २६ असार २०८२, बिहिबार  ११ : २५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।