तनहुँका विपन्नले पाए आवास


काठमाडौँ । जिल्लाको म्याग्दे गाउँपालिकाले ४८ जना विपन्न परिवारलाई आवास निर्माण गरी हस्तान्तरण गरेको छ । आर्थिक अवस्था कमजोर भएका वर्गलाई नमूना आवास कार्यक्रमअन्तर्गत निर्माण गरिएको आवास संयुक्त रूपमा प्रदान गरिएको हो ।

१० वर्षसम्म बेच्न, भाडामा लगाउन र धितो राख्न नपाउने प्रावधानसहित घर हस्तान्तरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए । “विपन्न नागरिक घरविहीन नहुन् भनेर सम्बन्धित वडाको सिफारिसका आधारमा घर निर्माण गरी संयुक्त रूपमा प्रमाणपत्र प्रदान गरिसकिएको छ”, उनले भने ।

आर्थिक वर्ष २०८०/८१ मा २५ घरका लागि ८ लाख रुपैयाा र आव २०८१/८२ मा २३ घरलाई  १० लाख रुपैयाँ लागतमा बोलपत्रमार्फत प्रक्रिया गरी आवास निर्माण गरिएको हो ।

सङ्कको समपुरक कोषको ३८ प्रतिशत र गाउँपालिकाको ६२ प्रतिशत लागतमा आवास निर्माण गरिएको गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले बताए । उनका अनुसार आवास सुविधा लिनका लागि परिवार सदस्यमा कोही स्थायी रोजगार तथा दिगो लगानी तथा आयस्रोत नभएका, दोहोरो सुविधा तथा अनुदान नलिएकालगायत प्रमाण पेस गर्नुपर्ने प्रावधान छ ।

अपाङ्गता भएका व्यक्ति, असहाय, सिमान्तकृत, अल्पसङ्ख्यक तथा दलित जातिमा सूचीकृत भएकालाई प्राथमिकता दिइएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए । “हामी जनप्रतिनिधिमा निर्वाचित भएपछि ५ वर्षभित्रमा कम्तीमा ६० घर बनाउछौँ भन्ने प्रतिबद्धता जनाएबमोजिम अहिलेसम्म ४६ वटा सम्पन्न गरी हस्तान्तरण गरेका छौँ”, उनले भने ।

गाउँपालिकाका इञ्जिनियर शिव ज्ञवालीले ४८ जना विपन्न परिवारका लागि २ कोठे पक्की भवन निर्माण गरिएको बताए । पालिकाले घरविहीन नागरिकलाई लक्षित गरी नमूना आवास कार्यक्रम सञ्चालन गरी भवन निर्माणलाई प्राथमिकतामा राखेको उनले उल्लेख गरे ।

प्रकाशित मिति: ५ असार २०८२, बिहिबार  १२ : ०५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।