काठमाडौँ । “झिम्माई” शीर्षकको ३ दिने बहुआयामिक कला प्रदर्शनी आज नेपाल आर्ट काउन्सिल, बबरमहलमा सुरु भएको छ। यो प्रदर्शनी फोटोग्राफर नविन बराल, चित्रकार बिष्णु परियार र कथा प्रस्तुतिकरणमा सक्रिय रेडियो फोटो पत्रिका साथी (रेफोपसा) बीचको संयुक्त सहकार्य हो।
“झिम्माई” ले छायाकला, चित्रकला र वृत्तचित्र गरी ३ फरक माध्यमबाट एउटै क्षणलाई प्रस्तुत गर्छ जुन १३ वर्षअघि २०१० मा च्छो रोल्पा जाँदै गर्दा बरालले दोलखाको चिया पसलमा खिचेको एक महिलाको तस्बिरमा आधारित छ।
नविन बरालले खिचेको रंगीन तस्बिर,बिष्णु परियारले बनाएको सोही तस्बिरको चित्र, तस्बिर फिर्ता गर्न गरिएको खोजको कथालाई समेटेको रेडियो फोटो पत्रिका साथीको डकुमेन्ट्री (वृत्तचित्र) अंश प्रदर्शनीको तीन माध्यम हुन ।
तस्बिर खिचिँदा ती महिलाको नाम सोधिएको थिएन तर त्यो संयोगले फोटोग्राफर नविन बरालको मनमा गहिरो छाप छाड्यो। उनको तस्बिर बरालको लागि एउटा सृजनात्मक आधारजस्तै बन्यो — तस्बिरलाई बरालले बारम्बार फर्केर हेरे। समय बित्दै जाँदा, नामको अनुपस्थितिले आफैंमा एउटा प्रश्न उठायो — कलाले कुनै क्षणलाई अमर बनाउन सक्छ, तर त्यस क्षणको भित्री जीवनलाई पूर्ण रुपमा चिन्न सक्दैन।
प्रदर्शनीले यथार्थ र प्रतिनिधित्वबीचको त्यही खाली ठाउँलाई पनि देखाउँछ। वर्षौंपछि जब उक्त तस्बिर चित्रको रूपमा ती महिलालाई फिर्ता दिइयो, उनले भन्नुभयो “यो लैजाऊ। न यो बोल्छ, न यल्ले खान दिन्छ। म यसको के गरूँ ”। “झिम्माई” ले दर्शकहरूलाई सौन्दर्य हेर्न मात्र होइन, असहज यथार्थसँग अवगत हुन निमन्त्रणा दिन्छ। अस्ताउँदो उमेरले थिचिएकी ती महिलाले पहिचानको खोजी गरेकी होइनन् — उनी सुरक्षाको चाहमा छिन्। उक्त तस्बिरमा लुकेको यथार्थले आजको समाजमा कलाको भूमिकालाई थप स्पष्ट बनाउँछ विशेषगरी असमानता, वृद्धावस्था र आर्थिक अन्योलताबीचको सङ्घर्षरत् जीवन।
प्रदर्शनीको क्यूरेटर नोटमा भनिएको छ, “मुस्कानमा मिठास छ, तर नुनिलो पसिना पनि मिसिएको छ। रंगीन तस्बिरभित्र फिक्का यथार्थ लुकेका छन्।”“झिम्माई” ले दया होइन, मूल्यको माग गर्छ। “झिम्माई” ले हामीलाई सम्झाउँछ — कलासँग संलग्न हुनु भनेको, त्यसले देखाएको जीवनसँग पनि संलग्न हुनु हो।
यो सहकार्यको तेस्रो स्वर रेडियो फोटो पत्रिका साथी ले वृत्तचित्र दृष्टिकोणमार्फत ल्याएको हो। दुवै कलाकारको यात्रा नजिकबाट नियाल्दै अनि पछ्याउदै, एउटा मौन प्रश्न — हामी साँच्चै के दिन सक्छौंरु — को पत्रहरू वृत्तचित्रको माध्यम बाट खोलिएको छ। “झिम्मै” प्रदर्शनी असार ८ सम्म बिहान १० बजेदेखि साँझ ६ बजेसम्म खुला रहनेछ।












प्रतिक्रिया