काठमाडौँ । जापानको ओसाकामा जारी वल्ड युनिभर्सल एक्स्पो (विश्व प्रदर्शनी) मा निर्माणाधीन नेपाल प्याभिलियन (नेपाल मण्डप) अलपत्र पर्दा मुलुककै बेइज्जत भएको छ । अर्कातिर ३८ करोड रुपैयाँ हाराहारी लगानी बालुवामा पानी हुने देखिएको छ ।
नेपाल प्याभिलियन एक्स्पो सुरु हुनुअघि नै तयार भइ सक्नु पथ्र्यो । तर प्रदर्शनी सुरु भएको दुई महिना बिति सक्दा पनि तयार भएको छैन । एनएचके टिभी, आसाइ सिम्बुन, स्मार्ट न्युज जस्ता जापानी मिडियाले ओसाकामा जारी विश्व प्रदर्शनीमा सहभागी सबै देशका प्याभिलियनहरू सञ्चालन भई सक्दा पनि नेपाल मण्डपमा ताल्चा लागेको विवरण र तस्विरहरू बाहिर ल्याइरहेका छन् ।
६ महिना चल्ने ओसाका एक्स्पो २०८१ चैत ३१ गते सुरु भएको हो । नेपालको उक्त प्याभिलियन २०८१ चैत ३१ अघि नै तयार भइ सक्नु पथ्र्यो । प्रदर्शनीमा विश्वका १५८ देश÷क्षेत्र सहभागी छन् । २ करोड ८२ लाखभन्दा बढी मानिसले प्रदर्शनी अवलोकन गर्ने अनुमान छ ।
श्रोतका अनुसार नेपाल मण्डपको काम सकिएको छैन । बाँकी काम नहुँदा प्रदर्शनी अवलोकनकर्ताले नेपालको कला, संस्कृति र नेपाली वस्तु देख्न पाएका छैनन् । अन्य देशका प्याभिलियनहरु सञ्चालन शुरू भई गुलजार हुँदा नेपाल प्याभिलियनमा ताला झुन्डिएको छ । यो ४५ करोड रुपैयाँ लागतको परियोजना हो । सो मध्ये करिब ३८ करोड रुपैयाँ ठेकेदारलाई भुक्तानी भइसकेको छ ।
ओसाका विश्व प्रदर्शनीका निम्ति नेपालका तर्फबाट उपायुक्त एवं व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरद विक्रम राणाका अनुसार नेपाल मण्डपको निर्माण ९० प्रतिशत सकिएको छ । करिब ४५ करोड रुपैयाँमा प्याभिलियन निर्माण गर्ने सम्झौता भएकोमा अब ६÷७ करोड रुपैयाँ मात्रै भुक्तानी हुन बाँकी छ । नेपाली र जापानी ठेकेदार कम्पनीको विवादले निर्माण कार्य रोकिएको उनी बताउछन् । नेपाल मण्डपको बाँकी निर्माण कार्य छिटो सुरु गरी सञ्चालनमा ल्याउने प्रयास भइरहेको पनि उनले जानकारी दिए ।












प्रतिक्रिया