नेपालको घाम पावरले जित्यो ‘किलिङ कर्भ प्राइज २०२५’


काठमाडौँ । नेपालको घाम पावरले सन् २०२५ को किलिङ कर्भ प्राइज जितेको छ । विश्वभरका जलवायु परिवर्तनविरुद्ध लड्ने प्रभावकारी समाधानलाई प्रदान गरिने यो एक प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार हो । ग्रामीण समुदाय र उद्योगलाई वितरण आधारित स्वच्छ सौर्य ऊर्जामार्फत सशक्त बनाउँदै जलवायु सहनशीलता निर्माणमा पुर्याएको योगदानका लागि घाम पावरलाई यो सम्मान प्रदान गरिएको हो ।

यो घोषणा हालै केन्याको नाइरोबीमा आयोजित टेड काउन्टडाउन समिट मा गरिएको थियो । उक्त समिटमा विश्वभरका नेताहरू र नवप्रवर्तनकर्ताहरूको सहभागिता रहेको थियो । जलवायु परिवर्तनविरुद्ध नवीन तथा क्रान्तिकारी विचारहरूको आदानप्रदान गरिएको यस कार्यक्रममा घाम पावर इनर्जी (ऊर्जा) श्रेणी मा विजेता घोषित भएको हो ।

पुरस्कार स्वरूप घाम पावरले आफ्नो योजनाहरू विस्तार गर्न ५० हजार अमेरिकी डलर प्राप्त गरेको छ । सौर्य ऊर्जालाई वित्तीय उपकरणहरूसँग संयोजन गर्दै सेवाबाट बञ्चित क्षेत्रहरूमा भरपर्दो, सुलभ र स्वच्छ बिजुली पुर्याउने नवीन मोडेलका कारण घाम पावरले यो विशेष पहिचान बनाएको हो । २५ सयभन्दा बढी विश्वव्यापी आवेदनहरूमध्येबाट छानिँदा घाम पावरले आफ्नो प्रभावशाली कामका आधारमा यो पुरस्कार जित्न सफल भएको हो ।

चार हजारभन्दा बढी सफल परियोजनाहरू पूरा गरिसकेको घाम पावरले व्यवसायहरू मात्रै होइन, खाद्य प्रणाली, स्वास्थ्य सेवा र समग्र जलवायु सहनशीलता बलियो बनाउनसमेत महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ । यसले नेपालको स्वच्छ उर्जा यात्रामा एक नयाँ उचाइ थपेको छ ।

जलवायु संकट गहिरिँदै गइरहेका बेला घाम पावरले समुदाय केन्द्रित र नवप्रवर्तनमा आधारित समाधानहरू प्रस्तुत गर्दै नेपालको कार्बन न्यूनीकरण र दिगो भविष्य निर्माणतर्फ निरन्तर योगदान पुर्याउने प्रतिबद्धता जनाएको छ ।

प्रकाशित मिति: ९ असार २०८२, सोमबार  १४ : ३६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।