डडेल्धुरा । डडेल्धुराका सातवटै स्थानीय तहले मङ्गलबार आर्थिक वर्ष २०८२/८३ का लागि बजेट सार्वजनिक गरेका छन् ।
यहाँका पालिकाले विकास निर्माण, पूर्वाधार, शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिकतामा राखेर बजेट प्रस्तुत गरेका हुन् । सबैभन्दा बढी बजेट परशुराम नगरपालिकाले प्रस्तुत गर्दै ८० करोड ४९ लाख ४१ हजार रुपैयाँ विनियोजन गरेको छ । नगर उपप्रमुख विमलाकुमारी बोहराले १७ औँ नगरसभामा बजेट प्रस्तुत गर्दै शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार क्षेत्र प्राथमिकतामा परेको जानकारी दिए ।
अमरगढी नगरपालिकाले ५८ करोड २५ लाख ८८ हजार रुपैयाँ, आलिताल गाउँपालिकाले ५३ करोड २७ लाख २० हजार रुपैयाँ, अजयमेरु गाउँपालिकाले ५३ करोड २ लाख ३८ हजार रुपैयाँ, गन्यापधुरा गाउँपालिकाले ४४ करोड ७४ लाख ५० हजार रुपैयाँ, भागेश्वर गाउँपालिकाले ५२ करोड ५७ लाख रुपैयाँ र नवदुर्गा गाउँपालिकाले ४६ करोड ७६ लाख १९ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका छन् ।
पालिकाहरुले सङ्घीय, प्रदेश र आन्तरिक स्रोतबाट जुट्ने आम्दानीको अनुमानका आधारमा खर्च विनियोजन गरेका छन् । अधिकांश पालिकाले आधारभूत सेवा, पूर्वाधार सुदृढीकरण, सामाजिक न्याय र समावेशी विकासमा जोड दिने जनाएका छन् । गाउँ तथा नगरसभा अधिवेशनमार्फत प्रस्तुत बजेटमध्ये केही सर्वसम्मत रूपमा पारित भइसकेका छन् भने केही पालिकामा छलफल जारी रहेको जनाइएको छ ।










प्रतिक्रिया