विदेश पठाइदिने भन्दै ५८ लाख रुपैयाँ ठगी गर्ने २ जना पक्राउ


काठमाडौँ । वैदेशिक रोजगारीमा युके र कतार पठाइदिने भन्दै  ५८ लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले २ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

दोलखा बैतेश्वर गाउँपालिका–३ का ३१ वर्षीया नवीना दाहाल घिमिरे र सर्लाही कौडेना गाउँपालिका–४ का ४३ वर्षीय लछुमन साह तेलीलाई पक्राउ गरी सार्वजनिक गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।

उनले भने, “पक्राउ परेकामध्ये नविनाले युके पठाइदिने भन्दै २ जनाबाट  ५२ लाख रुपैयाँ र लछुमनले कतार पठाइदिने भन्दै ३ जनाबाट ६ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएका भन्ने पीडितको उजुरीका आधारमा निजहरूलाई काठमाडौँबाट पक्राउ गरिएको हो ।”

पक्राउ परेकालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको सूचना अधिकारी आचार्यले बताए ।

प्रकाशित मिति: १२ असार २०८२, बिहिबार  १६ : ०६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।