सोयाबिन तेलले ह्वात्तै बढायो निर्यात दर


काठमाडौँ । चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा नेपालबाट सबैभन्दा बढी सोयाबिन तेल निर्यात भएको छ । पछिल्लो समय सोयाबिन तेल निर्यात बढेसँगै निर्यात दरमा नै वृद्धि भएको छ ।

भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि जेठसम्मको अवधिमा नेपालबाट ९३ अर्ब ५१ करोड ७१ लाख ८१ हजार रुपैयाँ बराबरको ४४ करोड २६ लाख किलो सोयाबिन तेल भारतलगायत अन्य मुलुकमा निर्यात भएको हो । यो अघिल्लो वर्षको तुलनामा ९२ अर्ब ६४ करोड १९ लाख ५ हजार रुपैयाँले बढी हो ।

जबकि गत आवको सोही अवधिमा ८७ करोड ५२ लाख रुपैयाँको मात्र सोयाबिन तेल निर्यात भएको थियो ।

सोयाबिन तेलको कच्चा पदार्थ आयात गरेर आंशिक वा पूरै प्रशोधनपश्चात् नेपालबाट फेरि सोयाबिन तेल निर्यात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । जसको परिमाणले नै नेपालको कुल निर्यातमा सबैभन्दा धेरै हिस्सा ओगटेको छ ।

चालु आर्थिक वर्षको ११ महिनामा नेपालले ९५ अर्ब ७२ करोड ६१ लाख ५२ हजार रुपैयाँ बराबरको ६३ करोड ३ लाख लिटर कच्चा सोयाबिन तेल आयात गरेको छ । कच्चा सोयाबिन तेल आयातको तुलनामा २ अर्ब २० करोड रुपैयाँ बराबरको कम निर्यात भएको छ ।

त्यस्तै, नेपालको निर्यातमा अर्को ठुलो हिस्सा सूर्यमुखी तेलको रहेको देखिएको छ । चालु आर्थिक वर्षको जेठसम्म नेपालमा २६ अर्ब ८७ करोड ८९ लाख ८६ हजार रुपैयाँ बराबरको सूर्यमुखी तेलको कच्चा पदार्थ र दाना आयात भएको थियो ।

जबकि सोही अवधिमा नेपालबाट ११ अर्ब ३३ करोड ८९ लाख ८३ हजार रुपैयाँको सूर्यमुखी तेल निर्यात भएको छ । सूर्यमुखी तेलको कच्चा पदार्थ आयातको तुलनामा निर्यात भने १५ अर्ब ५४ करोड रुपैयाँले कम भएको विभागको तथ्यांकले देखाउँछ ।

प्रकाशित मिति: १३ असार २०८२, शुक्रबार  १६ : १० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।