वाणिज्य, आपूर्ति तथा संरक्षण विभाग निजी क्षेत्रसँग सहकार्य गर्न तयार


वाणिज्य, आपूर्ति तथा संरक्षण विभागले व्यापार, व्यवसाय प्रवद्र्धनमा निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको जनाएको छ ।

नेपाल चेम्बर अफ कमर्शले आज आयोजना गरेको वाणिज्य नीतिसम्बन्धी छलफलमा विभागका महानिर्देशक योगेन्द्र गौचनले बजार अनुगमनमा मात्र सीमित नभई व्यापार सहजीकरणमा समेत ध्यान दिइने बताए ।

उनले उपभोक्ता संरक्षण ऐनअनुसार लेबल लगाइएका वस्तु बिक्री गर्न उद्यमी व्यवसायीलाई आग्रह गर्दै बजार अुनगमन निरन्तर रहने बताए । खरीद बिक्रीमा बिलविजक जारी गर्नु अनिवार्य भएको प्रष्ट पार्दै महानिर्देशक गौचनले बिजक जारी नगरेको भेटिए कारबाही हुने भन्दै व्यवसायीलाई सचेत गराएका थिए ।

चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले नीति निर्माणमा निजी क्षेत्रको सहभागिता सुनिश्चित गराउन सकिए कानूनी प्रावधानको कार्यान्वयनमा कठिनाइ नआउने बताए ।

उनले उपभोक्ता नियमावली निर्माणको क्रममा चेम्बरलाई सहभागी गराउन आग्रह गरे । अध्यक्ष श्रेष्ठले बजार अनुगमन गर्दा डर त्रासको वातावरण हटाउनुपर्नेमा जोड दिएका थिए ।