भारतबाट चार खर्ब ३४ अर्बकाे सामान आयात


वीरगन्ज । चालु आर्थिक वर्षको ११ महिनामा भारत हुँदै वीरगन्ज नाकामा चार खर्ब ३४ अर्ब २६ करोड मूल्य बराबरको वस्तु तथा सामान नेपाल भित्रिएको छ । यो नाका हुँदै कुल आयातको ७६.८० प्रतिशत हिस्सा भारतबाट आयातित सामानको रहेको छ ।

वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार यो नाका हुँदै आयात–निर्यातको सबैभन्दा धेरै हिस्सा भारतसँग हुने गरेको छ ।

यो नाका हुँदै हुने वैदेशिक व्यापार भारतसँग धेरै जोडिएको छ । यो नाकामा भारतपछि धेरै वस्तु तथा सामान भित्रिने मुलुकमा अर्जेन्टिना पर्छ । चालु आवको ११ महिनामा अर्जेन्टिनाबाट ४६ अर्ब ७४ करोड मूल्यका वस्तु तथा सामान यहाँ भित्रिएको छ । सो मुलुकबाट भित्रिएका सामानको हिस्सा भने ८.२७ प्रतिशत छ ।

चीनबाट सोही अवधिमा २८ अर्ब ८६ करोडको वस्तु तथा सामान यहाँ भित्रिएको छ । चीनबाट आयात हुनेको हिस्सा भने १.२२ प्रतिशत छ । चालु आवको ११ महिनामा ५० वटा मुलुकबाट वीरगन्ज नाकामा पाँच खर्ब ६५ अर्ब ४२ करोड मूल्यका वस्तु तथा सामान आयात भएका छन् ।

वीरगन्ज नाकाबाट चालु आवको ११ महिनामा ९१ अर्ब ५१ करोड मूल्यका वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएको छ । यो नाका हुँदै ११ महिनामा रु ८६ अर्ब ९७ करोडका वस्तु तथा सामान भारत निर्यात भएको छ । भारत निर्यातको हिस्सा भने ९५.५ प्रतिशत छ । यो नाका हुँदै सोही अवधिमा धेरै निर्यात हुने दोस्रो मुलुक अमेरिका रहेको छ । जहाँ कुल निर्यातको २।३८ प्रतिशत छ ।

अफगानिस्तानमा पनि यो नाका हुँदै सोही अवधिमा ६८ करोडको वस्तु तथा सामान निर्यात भएको छ । रासस

प्रकाशित मिति: १७ असार २०८२, मंगलबार  ०८ : १६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।