काठमाडौँ । असार सकिनै लाग्दा (असार २२ गते) सम्म देशैभर ४१.९ प्रतिशत धान रोपाइँ सकिएको छ । चालु आवमा १३ लाख ८७ हजार ४१५ हेक्टर जमिनमा रोपाइँ हुने अनुमान गरिएकामा हालसम्म ५ लाख ८० हजार ८८६ हेक्टरमा मात्रै धान रोपाइँ सकिएको हाे ।
गत वर्षको यसै अवधिमा ४३.५ प्रतिशत रोपाइँ सकिएको थियो । गत वर्षको तुलनामा १.६ प्रतिशतले रोपाइँ कम भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ ।
सबैभन्दा कम मधेस प्रदेशमा १३.६ प्रतिशत
असार २२ गतेसम्मको अवधिमा सबैभन्दा कम मधेस प्रदेशमा १३.६ प्रतिशत मात्र रोपाइँ सकिएको छ । गत वर्षको सोहि अवधिमा मधेस प्रदेशमा २५.५ प्रतिशत रोपाइँ सकिएको थियो । जसअनुसर मधेस प्रदेशमा गत वर्षको तुलनामा यस वर्ष ११.९ प्रतिशत कम रोपाइँ सकिएको छ ।
यसवर्ष मधेसमा ३ लाख ७६ हजार ३२७ हेक्टर क्षेत्रमा रोपाइँ हुने अनुमान छ । जसमध्ये ५१ हजार २५० हेक्टरमा धान रोपाइँ सकिएको तथ्यांकमा उल्लेख छ ।
सबैभन्दा बढी सुदूरपश्चिममा ८२ प्रतिशत
असार २२ गतेसम्मको अवधिमा सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा रोपाइँ सकिएको छ । सुदूरपश्चिममा ८२.८ प्रतिशत रोपाइँ सकिएको मन्त्रालयले जनाएको छ । गत वर्ष यसै अवधिमा सुदूरपश्चिममा ८६ प्रतिशत रोपाइँ भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । सुदूरपश्चिम प्रदेशमा १ लाख ७६ हजार ४१५ हेक्टर क्षेत्रमा धान रोपाइँ हुनेछ । जसमध्ये १ लाख ४५ हजार ९३२ हेक्टरमा रोपाइँ सकिएको हो ।
त्यसैगरी दोस्रो कर्णाली प्रदेशमा ७१.७ प्रतिशत रोपाइँ सकिएको छ । गत वर्षको सो अवधिमा कर्णालीमा ७८ प्रतिशत रोपाइँ भएको थियो । गत वर्षको तुलनामा कर्णालीमा ६.३ प्रतिशत कम क्षेत्रमा रोपाइँ सकिएको छ । कर्णालीमा ४० हजार ८८४ क्षेत्रमा रोपाइँ हुने अनुमान रहेको छ । जसमध्ये २९ हजार २९९ हेक्टरमा रोपाइँ सकिसकेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
गण्डकी प्रदेशमा ५५.६ प्रतिशत रोपाइँ सकिएको छ । गत वर्ष सो अवधिमा ४९.७ प्रतिशत मात्रै रोपाइँ भएको थियो । गण्डकीमा ९४ हजार १८२ हेक्टर क्षेत्रमा रोपाइँ हुने अनुमान छ । जसमध्ये ५२ हजार ३५३ हेक्टरमा रोपाइँ भइसकेको मन्त्रालयले जनाएको छ ।
लुम्बिनी प्रदेशमा ५२.१ प्रतिशत रोपाइँ सकिएको छ । गत वर्ष यसै अवधिमा लुम्बिनीमा ४४.४ प्रतिशत मात्र रोपाइँ सकिएको थियो । लुम्बिनी प्रदेशमा ३ लाख २ हजार ९३९ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने अनुमान गरिएको छ । जसमध्ये १ लाख ५७ हजार ८५७ हेक्टर क्षेत्रमा धान रोपाइँ सकिएको छ ।
बागमती प्रदेशमा ५१.९ प्रतिशत रोपाइँ सकिएको छ । गत वर्ष सो अवधिमा बागमती प्रदेशमा ४१.६ प्रतिशत मात्र रोपाइँ भएको थियो । यो वर्ष बागमतीमा १ लाख २० हजार ५४५ हेक्टर क्षेत्रमा धान रोपाइँ हुने अनुमान गरेको छ । जसमध्ये ६२ हजार ५६१ हेक्टरमा रोपाइँ सकिएको मन्त्रालयले जनाएको छ ।
यस्तै, कोशी प्रदेशमा २९.५ प्रतिशत मात्र रोपाइँ सकिएको छ । गत वर्षको यसै अवधिमा कोशीमा ३४.४ प्रतिशतमा रोपाइँ सकिएको थियो । गत वर्षको तुलनामा ४.९ प्रतिशतले कम रोपाइँ सकिएको छ ।
यस वर्ष कोशीमा २ लाख ७६ हजार ३८७ हेक्टरमा धान रोपाइँ हुने अनुमान छ । जसमध्ये ८१ हजार ६३५ हेक्टरमा रोपाइँ सकिएको हो ।












प्रतिक्रिया