भदौमा साढे ४ प्रतिशत रहेको महंगी असोजमा ३.७९ प्रतिशतमा झर्यो


चालु आर्थिक वर्षको तेस्रो महिनामा उपभोक्ता मूल्य वृद्धि झनै घटेको छ । चालु आवको दोस्रो महिना भदौमा ४.५१ प्रतिशत रहेको मूल्य वृद्धि असोज महिनामा झनै घटेर ३.७९ प्रतिशतमा झरेको हो ।

कोरोना भाइरसका कारण आर्थिक गतिविधमा आएको सुस्तताका कारण उपभोक्ता मूल्य वृद्धिमा पनि कमी आएको हो । चाडवाडको समयमा समेत व्यापार व्यवसायमा सुस्तता आउनुका साथै सर्वसाधारणको आयमा समेत कमी आएपछि दैनिक खरिददारीमा समेत नियन्त्रण भएको हुँदा मूलय वृद्धिका कमी आएको हो । अति आवश्यक बाहेक बाहिर हिडडुल, आवत जावतमा समेत लागेको नियन्त्रण सर्वसाधारणले दैनिक उपभोगमा समेत मितव्ययीता अपनाउदा मूल्य वृद्धि घट्न पुगेको हो।

२०७७ असोजमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.७९ प्रतिशत रहेको छ । गत आर्थिक वर्षकोे सोही महिनामा यस्तो मुद्रास्फीति ६.२१ प्रतिशत रहेको थियो । असोज महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.५० प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.४६ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

२०७६ असोजको तुलनामा २०७७ असोजमा तरकारी उपसमुहको मुल्यवृद्धि २३.१० प्रतिशत र दाल तथा गेडागुडी उपसमुहको मूल्यवृद्धि १३.८६ प्रतिशत रहेको छ । चालु आवको असोजमा काठमाडौं उपत्यकामा ३.३५ प्रतिशत, तराईमा ४.४६ प्रतिशत, पहाडमा ३.०३ प्रतिशत र हिमालमा ४.३९ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७६ असोजमा यी क्षेत्रहरुमा क्रमशः ८.१४ प्रतिशत, ५.७५ प्रतिशत, ४.८९ प्रतिशत र ५.११ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

२०७७ असोजमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ८.२६ प्रतिशत रहेको छ । गत आवको सोही महिनामा यस्तो मुद्रास्फीति ७.२९ प्रतिशत रहेको थियो । चालु आवको असोज महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ८.८७ प्रतिशत, ८.७८ प्रतिशत र ३.१३ प्रतिशत रहेको छ । चालु आवको तेस्रो महिनामा निर्माण सामग्रीको थोक मूल्य २.१३ प्रतिशतले घटेको छ ।

२०७७ असोजमा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क ०.९२ प्रतिशतले बढेको छ । गत आवको सोही महिनामा उक्त सूचकाङ्क १२.०८ प्रतिशतले बढेको थियो । असोज महिनामा ज्यालादर सूचकाङ्क १.१९ प्रतिशतले बढेको छ । २०७७ भदौमा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क १.२० प्रतिशतले बढेको थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।