काठमाडौँ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमा पेशाप्रति इमान्दार बन्न र बीमा व्यवसाय दिगो हुनेगरी काम गर्न निर्देशन दिएका छन् । उनले बीमकका प्रदेश तथा शाखा कार्यालयका प्रमुखहरूलाई निर्देशन दिएका हुन् ।
नेपाल बीमा प्राधिकरणद्वारा आज विराटनगरमा कोशी प्रदेशस्थित बीमकका प्रदेश तथा शाखा कार्यालयका प्रमुखहरूसँग आयोजित छलफल एवम् अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले बीमा पेशाका राम्रा र नराम्रा पक्षहरू पहिचान गरी राम्रा पक्षलाई मात्र अगाडि बढाउन निर्देशन दिएका हुन् ।
अध्यक्ष ओझाले बीमा ऐन, नियम र निर्देशिका बमोजिम व्यवसाय गर्न, सही रूपमा जोखिमाङ्कन गर्न र बजारमा नकारात्मक सन्देश जानेगरी काम नगर्न बीमकहरूलाई निर्देशन दिदै ऐन, नियम र निर्देशिका विपरित गएमा कारवाही हुने बताए ।
बीमा व्यवसायको महत्व अरूले नभई बीमकहरूले नै बढाउने हो भन्दै अध्यक्ष ओझाले बीमकले बीमालेख जारी गर्दा सही जानकारी दिएमा दाबी भुक्तानीमा समस्या नआउने बताए ।
अध्यक्ष ओझाले भने, “नागरिकले बीमा गरेपछि दाबी भुक्तानी पाउनुपर्छ, कर्मचारीको क्षमता अभिवृद्धिसँगै इमान्दारिता आवश्यक छ ।”
नेपाल बीमा प्राधिकरणका निर्देशक निर्मल अधिकारीले बीमा कम्पनीहरूले सुशासन पालना नगरी रेट कटिङ गरेमा कारवाही हुने उल्लेख गर्दै कम्पनीहरू स्वनियममा बसेर काम गर्नुपर्ने बताए ।












प्रतिक्रिया