काठमाडौँ । चालु आवको ११ महिना (साउन–जेठ) सम्ममा नेपाल आउने पर्यटकले भन्दा नेपालीले गरेको खर्च बढी रहेको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार सो अवधिमा १२ अर्ब १७ करोड ७३ लाख रुपैयाँ बढी खर्च गरेको देखिएको हो ।
तथ्यांक अनुसार सो अवधिमा नेपाल आउने विदेशीले ८ अर्ब २१ करोड ९८ लाख रुपैयाँ खर्च गरेका छन् भने सोही अवधिमा बिदेसिएका नेपालीले २० अर्ब ३९ करोड ७२ लाख रुपैयाँ लगेका छन् ।
राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको ११ महिनामा पनि ९ अर्ब ८२ करोड ७५ लाख रुपैयाँ बढी खर्च भएको छ । सो अवधिमा विदेशी पर्यटकले ७ अर्ब ६८ करोड ८२ लाख खर्च गरेका थिए भने नेपाली नागरिकहरु १७ अर्ब ५१ करोड ५८ लाख रुपैयाँ लिएर बाहिरिएका थिए ।
मुलुकलाई समृद्ध बनाउने एउटा पाटो विदेशी पर्यटक आगमनलाई मानिए पनि तथ्यांकले नेपाल आउने पर्यटकले भन्दा विदेश जाने नेपालीले गरेको खर्च बढी देखाएको छ । पछिल्लो समय नेपालीहरु पनि पर्यटकका रुपमा विदेश जाने क्रम बढेको छ । नेपालको संविधानले नै नागरिकलाई स्वतन्त्रता दिएकोले विदेश भ्रमण मोह बढ्दै गएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको दाबी छ ।
शैक्षिक प्रयोजनमा बिदेसियो १२ अर्ब बढी
शैक्षिक प्रयोजनमा बिदेसिने नेपालीले चालु आवको ११ महिनामा १२ अर्ब ४७ करोड ९९ लाख रुपैयाँ विदेश लगेका छन् । शैक्षिक प्रयोजनका लागि नेपाल आउने विदेशी नागरिकले सो अवधिमा ३६ करोड ९९ लाख रुपैयाँ मात्र खर्च गरेका छन् । सो अवधिमा शैक्षिक प्रयोजनका लागि आवतजावतमा नेपालले १२ अर्ब ११ करोड रुपैयाँ घाटा व्यहोर्नुपरेको छ ।
गत आवको सो अवधिमा यो प्रयोजनका लागि ११ अर्ब ७० करोड ५ लाख रुपैयाँ बिदेसिएको थियो भने ५५ करोड ४० लाख रुपैयाँ विदेशी नागरिकले खर्च गर्दा नेपाललाई ११ अर्ब १४ करोड ६५ लाख रुपैयाँ घाटामा भएको तथ्यांकमा उल्लेख छ ।
उपचारका लागि बिदेसिँदा ४ करोड खर्च
नेपाली नागरिकहरु स्वास्थ्य उपचारका लागि पनि लाखौँको संख्यामा विदेश जाने गर्दछन् । स्वास्थ्य उपचारको प्रयोजनका लागि बिदेसिने नेपालीले चालु आवको ११ महिनामा ४ करोड ७१ लाख रुपैयाँ खर्च गरेका छन् । त्यस्तै, नेपालमा उपचार गराउन नेपाल आउने विदेशीको खर्च भने ३ करोड ५४ लाख रुपैयाँ छ । उपचारका लागि विदेशजाँदा १ करोड १७ लाख रुपैयाँ घाटा भएको बैंकको तथ्यांकमा उल्लेख छ ।
गत आवको सो अवधिमा विदेशमा उपचार गर्दा नेपालीले २५ करोड ८६ लाख खर्च गर्दा विदेशीले २१ करोड ६२ लाख रुपैयाँ नेपालमा खर्चिएका थिए । सो अवधिमा ४ करोड २३ लाख रुपैयाँ घाटा भएको थियो । व्यापारिक प्रयोजनको भ्रमणबाट बाहिरीयो ३९ करोड रुपैयाँ व्यापारिक प्रयोजनको लागि भ्रमणमा नेपालीले ३९ करोड ७२ लाख रुपैयाँ खर्चिएका छन् । नेपालमा यस्तो भिसामा आउने विदेशीले भने १ करोड ७५ लाख रुपैयाँ मात्रै खर्च गरेका छन् । जसअनुसार व्यापारिक भ्रमणमा नेपालले ३७ करोड ९६ लाख रुपैयाँ घाटा व्यहोर्नुपरेको छ । गत आवको सो अवधिमा उक्त प्रयोजनमा १५ करोड २३ लाख रुपैयाँ घाटा भएको थियो । सो अवधिमा नेपालीले २८ करोड ८० लाख खर्च गर्दा विदेशीहरुले १३ करोड ५७ लाख रुपैयाँ मात्र खर्च गरेका थिए ।












प्रतिक्रिया