डिजिटल कारोबारको आकर्षण बढ्दै


काठमाडौँ । पछिल्लो समय डिजिटल कारोबारको आकर्षण बढिरहेको छ । सरकारले डिजिटल (विद्युतीय) कारोबारलाई प्राथमिकता दिँदै आएकोले यसको आकर्षण बढेको हो ।

डिजिटल बैंकिङ कारोबारलाई अगाडि बढाइरहँदा विभिन्न माध्यमका विद्युतीय कारोबार प्रणाली लागु भएको पाइन्छ ।
चालू आर्थिक वर्षको ११ महिना (साउन–जेठ) सम्ममा डिजिटल कारोबारमा उल्लेख्य मात्रामा वृद्धि भएको छ । राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको जेठ महिनामा मोबाइल बैंकिङबाट ५ करोड ७७ लाख ७७ हजार ८४३ पटक ४५ अर्ब २२ करोड ८७ लाख रुपैयाँबराबरको कारोबार भएको छ । गत वर्ष जेठ महिनामा ३५ अर्ब १२ करोड ८७ लाख रुपैयाँ कारोबार भएको थियो ।

त्यस्तै, वालेटमार्फत ४ अर्ब २८ करोड ८६ लाख रुपैयाँ कारोबार भएको छ भने कनेक्ट आइपिएसबाट २५ अर्ब ७८ करोड ५४ लाख रुपैयाँ कारोबार भएको तथ्यांकमा उल्लेख छ ।

सो अवधिमा क्यूआर कोडमार्फत ३५ लाख ४६ हजार ३८ पटक ९ अर्ब ३४ करोड ७५ लाख रुपैयाँ बराबर कारोबार भएको छ ।
ई–कमर्समार्फत १ लाख ९९ हजार ३३४ पटक १२ करोड ५२ लाख रुपैयाँको कारोबार भएको छ । गत वर्षको जेठ महिनामा १ करोड ७४ लाख रुपैयाँ कारोबार भएको थियो । गतवर्षको तुलनामा यो वर्ष कारोबारमा वृद्धि भएको छ ।

डिजिटल बैंकिङबाट गरिने कारोबार

पछिल्लो समय डिजिटल कारोबारको हरेक क्षेत्रको काममा राहत पुर्याएकोे छ । सरकारको सम्बन्धित कार्यालयमा भुक्तानी गर्नुपर्ने कर, राजस्व, जरिवाना, सवारी दस्तुर, रजिस्ट्रेसन तथा सेवा शुल्कजस्ता विभिन्न क्षेत्रका शुल्कहरू भुक्तानी गर्न डिजिटल बैंकिङ कारोबारले निकै सहजता प्रदान गरेको छ ।

त्यस्तै, विद्युत् सेवा, खानेपानी सेवा, बीमा प्रिमियम, दूरसञ्चार सेवा, सामाजिक सुरक्षा भत्तालगायतको रकमको भुक्तानी गर्न सकिन्छ ।

शिक्षण संस्था विद्यालय÷कलेज, स्वास्थ्य संस्था, हवाई सेवा, यातायात सेवा र होटल तथा रेष्टुरेन्ट सेवा कारोबारको भुक्तानी गर्नुपर्ने बिलको रकम भुक्तानी गर्न र धितोपत्र व्यवसाय गर्न अनुमतिपत्र प्राप्त धितोपत्र दलालहरूसँग धितोपत्रहरूको कारोबार गरेबापत सेवाग्राही ग्राहकबाट÷लाई प्रति भुक्तानी कारोबार गर्न सकिन्छ ।

प्रकाशित मिति: २६ असार २०८२, बिहिबार  १७ : ५० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।