मौद्रिक नीतिपछिको पहिलो दिनको सेयर बजारः २९ अंकको सुधार, कारोबार रकम साढे ११ अर्ब


काठमाण्डौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेपछि सेयर बजारमा त्यसको सकारात्मक असर देखिएको छ । मौद्रिक नीति आउनु पहिले नै निरन्तर उकालो लागेको बजार आइतबार २९ अंकले बढेर २७६०.८० अंकमा पुगेको हो ।

आइतबार कारोबारमा आएका ३११ कम्पनीका ३ करोड २५ लाख ९२ हजार ३० कित्ता सेयर १ लाख ५ हजार ४१५ पटक किनबेच हुँदा ११ अर्ब ४१ करोड ६२ लाख २८ हजार रुपैयाँको कारोबार भएको छ । बजारमा आएको सुधारसँगै कारोबार रकम पनि झण्डै २ अर्ब रुपैयाँले बढेको हो । बिहीबार कारोबारमा आएका ३१२ कम्पनीको २ करोड ६४ लाख ७० हजार ८४० कित्ता सेयर ८८ हजार ६१५ पटक किनबेच हुँदा ९ अर्ब ६८ करोड २४ लाख ८८ हजार रुपैयाँको कारोबार भएको थियो ।

मौद्रिक नीतिले व्याजदर, तरलता व्यवस्थापन लगायत समग्र विषयमा गरेका व्यवस्थाले बजारलाई टेवा पुर्याउने भएपछि लगानीकर्ताले बजारमा लगानी बढाएका हुन् । विशेष गरी वाणिज्य बैंकहरुको सेयर मूल्य स्थिरप्राय अवस्थामा रहँदै आएकोमा आइतबार सो समुहका कम्पनीहरुको सेयर मूल्यमा उतारचढाव देखिएको छ । आइतबार लघुवित्त समूह १७३.२२ अंकले बढेको बजारमा विकास बैंक समूह ८३.३८ अंकले, बैकिङ्ग समूह ४९.०९ अंकले, वित्त समूह ४६.७४ अंकले बढेको छ ।

एनआइसी एसिया बैंक, खानीखोला हाइड्रोपावर र जीवन विकास लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेको बजारमा नेष्डो समृद्ध लघुवित्तको सेयर मूल्य ७.३० प्रतिशतले र समाज लघुवित्तको सेयर मूल्य ६.५० प्रतिशतले बढेको छ ।
हिमालयन हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले घटेको बजारमा राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको सेयर मूल्य ७.३४ प्रतिशत, भगवती हाइड्रोपावरको सेयर मूल्य ६.९३ प्रतिशत, पञ्चकन्या माई हाइड्रोपावरको सेयर मूल्य ५.३९ प्रतिशत र न्यादी हाइड्रोपावरको सेयर मूल्य ४.७१ प्रतिशतले घटेको छ ।

कारोबार संख्याको आधारमा एनआइसी एसिया बैंक ३७ करोड १४ लाख ९९ हजार रुपैयाँको कारोबारसहित शीर्ष स्थानमा छ । कारोबारमा आएका इकाई संख्याको आधारमा सनराइज ब्लुचिप फन्ड २० लाख ५४ हजार ४०० इकाईको कारोबार सहित अग्रस्थानमा रहँदा कारोबार संख्याको आधारमा एनआइसी एसिया बैंक ३ हजार ७ पटकको कोरोबार सहित शीर्षस्थानमा छ ।

आइतबारको कारोबारसँगै कुल बजार पूँजीकरण ४६ खर्ब ३७ करोड १२ लाख २५ हजार रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति: २९ असार २०८२, आइतबार  १५ : ५९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।