काठमाडौँ । हरेक वर्ष सरकारले गर्ने आम्दानीभन्दा खर्च बढी हुँदा घाटा बर्सेनि बढिरहेको छ । विगत ५ वर्षयता सरकारको आम्दानीभन्दा खर्च निकै बढी भएको महालेखा नियन्त्रक कार्यालयको तथ्यांकले देखाएको छ ।
विगत ५ वर्षमा ५२ खर्ब ६५ अर्ब ४९ करोड ९८ लाख रुपैयाँ आम्दानी हुँदा ६७ खर्ब ९९ अर्ब ८७ करोड ३३ लाख रुपैयाँ खर्च भएको छ । सो अवधिमा आम्दानीभन्दा १५ खर्ब ३४ अर्ब ३७ करोड ३५ लाख रुपैयाँ बढी खर्च भएको हो ।
कार्यालयका अनुसार सरकारले चालु आर्थिक वर्षमा ११ खर्ब ५६ अर्ब ६९ करोड ६ लाख रुपैयाँ आम्दानी गरेको छ । यो लक्ष्यको ७८.६ प्रतिशत मात्र हो । यो वर्ष १४ खर्ब ७१ अर्ब ६२ करोड ९५ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य थियो ।
गत आर्थिक २०८०/८१ मा आम्दानीभन्दा ३ खर्ब ५५ अर्ब ३५ करोड ४७ लाख रुपैयाँ बढी खर्च भएको थियो । सो वर्ष १० खर्ब ४२ अर्ब २८ करोड ४३ लाख रुपैयाँ आम्दानी हुँदा १३ खर्ब ९७ अर्ब ६३ करोड ९० लाख रुपैयाँ खर्च भएको हो ।
यस्तै, आव २०७९/८० मा ९ खर्ब ९५ अर्ब ६० करोड ५ लाख रुपैयाँ आम्दानी हुँदा १४ खर्ब २८ अर्ब ८९ करोड ७६ लाख रुपैयाँ खर्च भएको छ । सो वर्ष आम्दानीभन्दा ४ खर्ब ३३ अर्ब २९ करोड ७१ लाख रुपैयाँ बढी खर्च भएको देखिन्छ ।
आव २०७८/७९ मा सरकारले आम्दानीभन्दा १ खर्ब ८० अर्ब ४३ करोड ९४ लाख रुपैयाँ बढी खर्च गरेको छ । सो वर्ष १० अर्ब ९६ अर्ब ७६ करोड ६ लाख रुपैयाँ आम्दानी हुँदा १२ खर्ब ७७ अर्ब २० करोड रुपैयाँ खर्च भएको हो ।
आव २०७७/७८ मा आम्दानी ९ खर्ब ७४ अर्ब १६ करोड ३८ लाख रुपैयाँ र खर्च ११ खर्ब ८० अर्ब १७ करोड ४ लाख रुपैयाँ छ । यस वर्ष पनि आम्दानीभन्दा खर्च २ खर्ब ६ अर्ब ६६ लाख रुपैयाँ बढी भएको हो ।
-
राजस्वले जसोतसो धान्छ चालु खर्च
पछिल्लो ५ वर्षको तथ्यांकअनुसार राजस्व संकलनबाट चालु खर्च भने जसोतसो धान्न पुग्ने देखिएको छ । पुँजीगत खर्च र वित्तीय व्यवस्थाका लागि अर्को ऋण वा अनुदानको भर पनुपर्ने अवस्था छ ।
महालेखा नियन्त्रकको कार्यालयका अनुसार सरकारले कर र गैरकर राजस्व संकलन गर्ने गरेको छ । चालु आवमा १४ खर्ब १९ अर्ब ३० करोड ३० लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकामा त्यसको ७९ प्रतिशत अर्थात् ११ खर्ब २१ अर्ब २५ करोड ५३ लाख रुपैयाँ मात्र राजस्व संकलन भएको छ ।
समीक्षा अवधिमा चालु खर्च मात्रै ९ खर्ब ८० अर्ब ९७ करोड १२ लाख रुपैयाँ छ । यसको मतलब सरकारले चालु खर्चमा मात्रै राजस्वको अधिकांश हिस्सा खर्चिनु परेको छ ।
-
लक्ष्य अनुसारको राजस्व संकलन हुँदैन
कार्यालयका अनुसार हरेक वर्ष लक्ष्यअनुसारको राजस्व संकलन हुन सकेको छैन । चालु आवमा १४ खर्ब १९ अर्ब ३० करोड ३० लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकामा ७९ प्रतिशत अर्थात् ११ खर्ब २१ अर्ब २५ करोड ५३ लाख रुपैयाँ मात्र राजस्व संकलन भएको छ ।
त्यस्तै, गत आव २०८०/८१ मा लक्ष्यको ७१.४३ प्रतिशत, आव २०७९/८० मा ६६.६७ प्रतिशत, आव २०७८/७९ मा ८७.७ प्रतिशत र आव २०७७/७८ मा ९०.६४ प्रतिशत राजस्व संकलन भएको छ ।












प्रतिक्रिया