काठमाडौँ । असारको अन्तिमसम्म पनि कोशी प्रदेशमा यो वर्ष ४१ प्रतिशत मात्र धान रोपाई भएको छ । कोशी प्रदेशको कृषि विकास निर्देशनालयका अनुसार गत वर्ष असारको २८ गतेसम्म ६१.६७ प्रतिशत रोपाई भएको थियो । यो वर्ष भने ४१.३२ प्रतिशत मात्र धान रोपाई भएको हो ।
गत वर्षको तुलनामा लगभग २०.३५ प्रतिशत कम रोपाइँ भएको तथ्यांकमा उल्लेख छ । निर्देशनालयका अनुसार सबैभन्दा बढी मध्य पहाडमा ५१.२७ प्रतिशत धान रोपाई भएको छ । मध्य पहाडमा यसवर्ष ६७ हजार ७१७ हेक्टर क्षेत्रफलमा धान रोपाइ हुने अनुमान गरेकोमा ३४ हजार ७२२ हेक्टर क्षेत्रफलमा धान रोपाई भएको हो । यो वर्ष समयमा पानी नपरेको हुनाले रोपाई समयमा नभएको निर्देशनालयले बताएको छ ।
त्यस्तै उच्च पहाडमा १५ हजार ३८३ हेक्टर क्षेत्रफलमा धान रोपाई गर्ने अनुमान गरिएकोमा ६ हजार १०८ हेक्टर क्षेत्रफलमा अर्थात् ३९.७१ प्रतिशत मात्र धान रोपाइ भएको छ भने तराईमा १ लाख ९८ हजार २८५ हेक्टर क्षेत्रफलमा धान रोप्ने अनुमान गरेकोमा ७३ हजार ३८१ हेक्टर क्षेत्रफलमा मात्र धान रोपाई भएको छ । कुल धान रोपाई हुने क्षेत्रफलको ३७.९७ प्रतिशत मात्र धान रोपाई भएको हो । यी क्षेत्रहरुमा कम पानी परेर रोपाई कम भएको निर्देशनालयले जनाएको छ ।












प्रतिक्रिया