कैलाली भन्सारमा ८ अर्ब ६६ करोड ९८ लाख रुपैयाँ राजस्व सङ्कलन


अत्तरिया । कैलाली भन्सार कार्यालय धनगढीले ८ अर्ब ६६ करोड ९८ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/८२ को साउनदेखि असार मसान्तसम्मको १ वर्षको अवधिमा सो राजस्व सङ्कलन गरेको हो ।

आर्थिक वर्ष २०८१/८२ मा कार्यालयको ११ अर्ब १६ करोड २६ लाख रुपैयाँ राजस्व सङ्कलनको वार्षिक लक्ष्य रहेकामा ८ अर्ब ६६ करोड ९८ लाख रुपैयाँ अर्थात् ७७.६७ प्रतिशतमात्रै राजस्व सङ्कलन भएको भन्सार कार्यालयका सूचना अधिकारी खिमप्रसाद अर्यालले जानकारी दिए।

उनका अनुसार भन्सार महसुलतर्फ ३ अर्ब २३ करोड ९९ लाख रुपैयाँ, मूल्य अभिवृद्धि करतर्फ ३ अर्ब २३ करोड १५ लाख रुपैयाँ, अन्तःशुल्कतर्फ २१ करोड ४४ लाख रुपैयाँ र अन्यतर्फ १ अर्ब ९८ करोड ३९ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

सूचना अधिकारी अर्यालका अनुसार आर्थिक वर्ष २०८१/८२ को साउनमा ५७ करोड ५० लाख रुपैयाँ, भदौमा ५३ करोड ८४ लाख रुपैयाँ, असोजमा ६७ करोड २४ लाख रुपैयाँ, कात्तिकमा  ६२ करोड ७८ लाख रुपैयाँ, मङ्सिरमा ८१ करोड १३ लाख रुपैयाँ र पुसमा ६५ करोड ८७ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

त्यस्तै माघमा ७३ करोड २ लाख रुपैयाँ, फागुनमा  ७२ करोड ७६ लाख रुपैयाँ, चैतमा  ७८ करोड १४ लाख रुपैयाँ, वैशाखमा  ८१ करोड ८० लाख रुपैयाँ, जेठमा  ८७ करोड १३ लाख रुपैयाँ र असारमा ८५ करोड ६९ लाख रुपैयाँ राजस्व सङ्कलन भएको उनले जानकारी दिए।

कार्यालयले अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा पनि लक्ष्यअनुसारको राजस्व सङ्कलन गर्न सकेको थिएन । अघिल्लो आर्थिक वर्षमा ११ अर्ब ५८ करोड २४ लाख रुपैयाँ वार्षिक राजस्व सङ्कलनको लक्ष्य रहेकामा ७ अर्ब ९१ करोड ८० लाख रुपैयाँमात्रै राजस्व सङ्कलन भएको सूचना अधिकारी अर्यालले जानकारी दिए। जुन वार्षिक लक्ष्यको ६८.३६ प्रतिशतमात्रै थियो ।

प्रकाशित मिति: २ श्रावण २०८२, शुक्रबार  १२ : २७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।