काठमाडौँ । बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले आयोजना प्रभावित स्थानीयवासी र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आज (मंगलबार) साउन ६ गतेदेखि प्राथमिक सेयर (आईपीओ) निष्काशन गरेको छ।
कम्पनीले तनहुँ र गोरखा जिल्लाका आयोजनाबाट प्रभावित स्थानीयवासीहरूलाई लक्षित गर्दै ५ लाख ५६ हजार कित्ता शेयर छुट्याएको छ। यो समूहमा तनहुँको बन्दीपुर गाउँपालिकाका सबै वडा, आबुखैरेनी गाउँपालिकाका सबै वडा, भानु नगरपालिकाको वडा नम्बर १ र गोरखा जिल्लाको पालुंगटार नगरपालिकाको वडा नम्बर ७ का बासिन्दाले आवेदन दिन पाउने छन्।
स्थानीयले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम म्याद छिटोमा साउन २० गतेसम्म तोकिएको छ। तर तोकिएको अवधिमा पर्याप्त आवेदन नपरेमा आवेदन म्याद भदौ ४ गतेसम्म लम्ब्याइन सकिनेछ।
त्यसैगरी, वैदेशिक रोजगारीमा रही श्रम स्वीकृति लिएका नेपालीहरूका लागि ५ लाख २९ हजार ४ सय कित्ता शेयर निष्काशन गरिएको छ। यो समूहले पनि न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछ। यस समूहको आवेदन म्याद साउन ९ गतेसम्म कायम गरिएको छ।
सेयर बिक्री प्रवन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको कम्पनीले जनाएको छ।
नेपाल धितोपत्र बोर्डले असार १९ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो। अब कम्पनीले कुल ५८ लाख ६० हजार कित्ता, अर्थात् ५८ करोड ६० लाख रुपैयाँ बराबरको सेयर निष्काशन गर्ने तयारीमा छ।












प्रतिक्रिया