१६४ देशसँग व्यापार गर्दा १२७ देशसँग नेपालले बेहोर्‍यो घाटा


काठमाडौँ । नेपालले गत आर्थिक वर्ष २०८१/८२ मा १६४ देशसँग व्यापार गरेको छ । गत आर्थिक वर्ष वैदेशिक व्यापार गरेका १२७ देशसँग नेपालले घाटा बेहोर्दा ३७ देशसँगको व्यापारबाट मात्र नाफा आर्जन गरेको छ । अधिकांश देशसँग उच्च व्यापार घाटा छ ।

भन्सार विभागका अनुसार आर्थिक वर्ष २०८१/८२ मा नेपालले १६४ वटा मुलुकसँग कुल २० खर्ब ८१ अर्ब १५ करोड २९ लाख ३३ हजार रुपैयाँको वैदेशिक व्यापार गरेको छ । नेपालले ती मुलुकहरूबाट कुल १८ खर्ब ४ अर्ब १२ करोड २७ लाख ३१ हजार रुपैयाँको आयात गरेकामा २ खर्ब ७७ अर्ब ३ करोड २ लाख २ हजार रुपैयाँको मात्र निर्यात गरेको छ । जसबाट गत आवमा नेपालले १५ खर्ब २७ अर्ब ९ करोड २५ लाख ३० हजार रुपैयाँ व्यापार घाटा बेहोरेको छ ।

नेपालले कुल १६४ वटा मुलुकसँग व्यापार गर्दा ३७ वटासँगको व्यापार नाफामा छ । कति देशमा निर्यात मात्र भएको छ भने कति देशबाट आयात मात्रै भएको छ । भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्षको तथ्यांकअनुसार मुलुकले व्यापार गरेका १२७ मुलुकमध्ये अफगानिस्तानसँग सबैभन्दा बढी नाफा गर्दा भारतसँगको व्यापार घाटा सबैभन्दा उच्च छ ।

३७ मुलुकसँगको व्यापार नाफामा

नेपालले गत आर्थिक वर्षमा अफगानिस्तान, डेनमार्क, रुस, रोमानिया, अस्ट्रिया, लाओस, आइसल्यान्डलगायत ३७ मुलुकसँगको व्यापारमा नाफा गरेको छ ।

नेपालले सबैभन्दा धेरै नाफा अफगानिस्तानसँग गरेको छ । गत आवमा अफगानिस्तानसँग ६८ करोड ६१ लाख १७ हजार रुपैयाँ व्यापार नाफा छ । ७७ करोड ४ लाख १५ हजार रुपैयाँको वस्तु तथा सेवा अफगानिस्तान निर्यात हुँदा त्यहाँबाट ८ करोड ४२ लाख ९७ हजार रुपैयाँको मात्र आयात भएको छ ।

दोस्रोमा डेनमार्कसँगको व्यापारमा ३३ करोड ८९ लाख १३ हजार रुपैयाँ नाफा छ भने रुससँग ७ करोड ७४ लाख २५ हजार रुपैयाँ नाफा गरेको छ । त्यसपछि रोमानियासँग ६ करोड ६४ लाख २० हजार रुपैयाँ नाफा गरेको छ ।

त्यस्तै, अस्ट्रियासँग ५ करोड ७६ लाख ६९ हजार रुपैयाँ, लाओससँग ३ करोड ७२ लाख १४ हजार रुपैयाँ र आइसल्यान्डसँग २ करोड ८६ लाख ३३ हजार रुपैयाँ नाफा भएको छ । गएको वर्ष नेपालले ५ मुलुकसँग ५ करोडभन्दा बढीको नाफा गरेको छ । अन्य मुलुकसँग भने नेपालको नाफा सामान्य छ । सबैभन्दा कम नाफा बर्मुडासँग ३८ हजार रुपैयाँ मात्र छ ।

भारतसँग उच्च व्यापार घाटा

विभागको तथ्यांकअनुसार नेपालको सबैभन्दा ठुलो व्यापार घाटा भारतसँग छ । गत आर्थिक वर्षमा नेपालले भारतसँग मात्रै ८ खर्ब ४६ अर्ब ५१ करोड ४५ लाख ३८ हजार रुपैयाँ व्यापार घाटा बेहोरेको छ । गत आवमा भारतमा कुल १० खर्ब ७१ अर्ब १९ करोड ८९ लाख ३४ हजार रुपैयाँको सामान आयात गरेकामा २ खर्ब २४ अर्ब ६८ करोड ४३ लाख ९६ हजार रुपैयाँको मात्र निर्यात गरेको छ ।

नेपालको व्यापार घाटा उच्च हुने मुलुकमा चीन दोस्रो तथा अर्जेन्टिना तेस्रो नम्बरमा छन् । गत वर्ष चीनसँगको व्यापारमा ३ खर्ब ३८ अर्ब ४७ करोड ४५ लाख ६७ हजार रुपैयाँ घाटा भएको छ । सो अवधिमा चीनबाट ३ खर्ब ४१ अर्ब १० करोड ४५ लाख ९६ हजार रुपैयाँको आयात भएकामा चीनतर्फ २ अर्ब ६३ करोड २९ हजार रुपैयाँको मात्र निर्यात भएको छ । अर्जेन्टिनासँगको व्यापारमा नेपालले ९९ अर्ब २९ करोड ७० लाख १५ हजार रुपैयाँ घाटा बेहोरेको छ ।

प्रकाशित मिति: ६ श्रावण २०८२, मंगलबार  १५ : ०५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।