लगातारको वृद्धिपछि नेप्से ३ हजार बिन्दु नजिक कारोबार रकम २० अर्ब माथि


काठमाडौँ । लगातारको वृद्धि पछि सेयर बजार परिसुचक नेप्से ३ हजार बिन्दुनजिक पुगेको छ । मंगलबार नेप्से ८०.९७ अंकले बढेर २९७३.७० अंकमा पुगेको हो ।

कारोबारमा आएका ३१९ वटा कम्पनीका ४ करोड ३५ लाख ८१ हजार २२८ कित्ता सेयरहरु १ लाख ७७ हजार १०१ पटक किनबेच हुँदा २० अर्ब ८ करोड ५३ लाख ६७ हजार रुपैयाँको कारोबार भएको छ ।

सोमबार नेप्से २१.७६ अंकले बढेर २८९२.७२ अंकमा पुग्दा कारोबार रकम १६ अर्ब १० करोड ३४ लाख रुपैयाँ पुगेको थियो ।
मंगलबार सबै समूहमा हरियाली देखिएको छ । उत्पादन तथा प्रशोधन समूह ४.६३ प्रतिशतले बढेको छ । जिवन बीमा समूह ४.३६ प्रतिशत, लघुवित्त समूह ४.०७ प्रतिशत, होटल तथा पर्यटन समूह ३.४४ प्रतिशत, अन्य समूह ३.२६ प्रतिशतले बढेको बजारमा लगानी समूह ३.२४ प्रतिशतले बढेको छ । निर्जीवन बीमा समूह २.५६ प्रतिशत, विकास बैंक समूह २.२६ प्रतिशतले र बैंकिङ्ग समूह २.१० प्रतिशतले बढेको छ ।

मंगलबार ट्रेड टावर, शिवम् सिमेन्ट, सान्भि इनर्जी, उन्नती सहकार्य लघुवित्त र बिन्ध्यवासिनी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

समग्र बजार बढ्दा पनि यता ११ प्रतिशत एलबीबीएल डेभेन्चरको सेयर ३.९४ प्रतिशतले घटेको छ । नबिल ग्रथ फण्डको सेयर मूल्य ३.०१ प्रतिशत, बोट्लर्स नेपाल बालाजुको सेयर मूल्य २.४६ प्रतिशत, ग्रीन डेभलपमेन्ट बैंकको सेयर मूल्य २.१९ प्रतिशत र पञ्चकन्या माई हाइड्रोपावरको सेयर मूल्य २.०३ प्रतिशतले घटेको छ ।

७१ करोड ८८ लाख ८५ हजार रुपैयाँ बराबरको कारोबार सहित नेपाल रिइन्स्योरेन्स कम्पनी अग्रस्थानमा छ । २२ लाख ३७ हजार ३९५ इकाईको कारोबार सहित सनराइज फोक्स्ड इक्युटी फण्ड शीर्ष स्थानमा रहँदा कारोबार संख्याको आधारमा शिवम् सिमेन्ट ४ हजार ८४५ पटकको कोरोबार सहित शीर्ष स्थानमा छ ।

मंगलबारको कारोबार सँगै कुल बजार पूँजीकरण ४९ खर्ब ६२ अर्ब १२ करोड ९ लाख ९४ हजार रुपैयाँ कायम भएको छ ।

सोमबार कुल बजार पूँजीकरण ४८ खर्ब २६ अर्ब ९९ करोड ८६ लाख रुपैयाँ कायम भएको थियो ।

प्रकाशित मिति: ६ श्रावण २०८२, मंगलबार  १५ : ४५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।