गण्डकी । सडक निर्माणका लागि बजेट अपुग भएपछि बागलुङको ताराखोला गाउँपालिका–३ का बासिन्दाले आर्थिक सहयोग अभियान सुरु गरेका छन् ।
डोप्टा–बराहखोला जोड्ने सडकमा पर्ने चेवटको भिर काटेर मार्ग खोल्न सरकारी बजेटले नपुगेपछि उपभोक्ताले रकम जुटाउन सुरु गरेका हुन् । सडक निर्माणका लागि गत आर्थिक वर्षमा गाउँपालिकाको ३० लाख रुपैयाँ र गण्डकी प्रदेश सरकारले २० लाख रुपैयाँ बजेट विनियोजन गरेका थिए । समितिले ७५ लाख रुपैयाँमा सडक निर्माणको ठेक्का लगाएको थियो ।
अपुग रकम जुटाउन सहयोग अभियान सञ्चालन गरिएको सडक निर्माण समितिका अध्यक्ष एवं आर्थिक सङ्कलन समितिका संयोजक खड्गबहादुर नाउसाले बताए। सडक निर्माणमा स्थानीयवासीले श्रमदानसमेत गरेका थिए ।
“३६ लाख रुपैयाँ समितिलाई व्ययभार थपिएपछि आर्थिक सङ्कलन अभियान सुरु गरिएको हो, अहिलेसम्म १५ लाख रुपैयाँ उठिसकेको छ”, उनले भने, “सडक निर्माणमा गाउँपालिका र प्रदेश सरकारले पनि सहयोग ग¥यो, उपभोक्ताको पनि लगानी परेको छ ।” अप्ठ्यारो भूगोलका कारण गाउँपालिका र प्रदेश सरकारले दिएको बजेटले मात्र काम सम्पन्न हुन नसकेको उनले बताए।
ताराखोलाबाट विदेशमा गएकाहरुबाट पनि सहयोगको प्रतिबद्धता आएको अध्यक्ष नाउसाले बताए। विभिन्न आमा समूह, सङ्घसंस्थालगायतबाट पनि सहयोग प्राप्त भइरहेको उनको भनाइ छ । ग्रामीण सडक निर्माणमा स्थानीय उपभोक्ताहरुबाट श्रमदान र आर्थिक सहयोग जुट्नु सुखद् पक्ष रहेको अध्यक्ष नाउसाले बताए।










प्रतिक्रिया