१ बिघामा १५ लाखको केरा उत्पादन


टीकापुर । कैलालीको टीकापुर–४ का केरा किसान टेकेन्द्र धामीले केराखेती गरेर १ बिघामा १५ लाख रुपैयाँ सम्मको केरा उत्पादन गरेका छन् । धामीले गतवर्ष ३ बिघा ७ कठ्ठामा गरिएको केराखेतीबाट ४७ लाख रुपैयाँको केरा बिक्री गरे । ‘‘समयमै उत्पादन हुँदा ४७ लाख रुपैयाँको केरा बिक्री गरेँ, फुटकर बिक्री गरेको हिसाब राखेको छैन’’, उनले भने, ‘‘मैले राम्रो उत्पादन भएका बेला १ बिघामा १५ लाख रुपैयाँसम्म कमाएको छु ।’’

धामीले १९ बिघामा केराखेती गरेका छन् । यसका साथै ३ बिघामा उखु, अन्य जमिनमा धान र केराको टिस्यु कल्चर बेर्ना उत्पादनको काम गरिरहेका छन् ।

१४ वर्षदेखि केराखेतीमा संलग्न धामीले थोपा सिँचाइ प्रविधिबाट खेती गर्दै आएका छन् । यसरी केराखेतीमा लागेका धामीलाई रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइले राम्रो साथ दिएको छ । आयोजनाले थोपा सिँचाइ, पावर टिलर, अटो सहयोग गरेको छ’’, उनले भने, ‘‘मैले उत्पादन गरेका केराका बेर्ना अन्य किसानलाई वितरण गर्नका लागि किनिदिने गरेको छ ।’’

केराखेतीमा राम्रो आम्दानी देखेपछि स्वदेशमै भविष्य बनाउन र रोजगारीका अवसर सिर्जना गरिरहेका धामीलाई यो पेसाबाट सन्तुष्टि मिलेको छ । ‘‘आफ्नो जमिन सदुपयोग र बाँकी जमिन लिजमा लिएर खेती गरिरहेको छु’’, उनले भने, ‘‘ मल, पोषक तत्व सहजै पाउन भने कठिन हुने गरेको छ । लागतअनुसार बजार नपाउँदा कहिलेकाहीँ समस्या हुन्छ ।’’

किसानले असारमा केरा रोप्ने गर्दछन् । वर्खाको सिजनमा केराको अभाव हुन्छ । केरा किसान धामी मूल्य राम्रो पाउनका लागि किसानको सोचमा पनि परिवर्तन आउनुपर्ने बताउँछन्। ‘‘हरेक किसानले असारमा केरा रोप्ने चलन छ । यसपटक मैले मङ्सिरमा केरा रोपे, यो केरा साउनमा फुट्छ, तर यसले मल नपाएर समस्या छ’’, उनी भन्छन्, ‘‘वैशाखमा रोपेको केरा अहिले बजारमा गइरहेको छ ।’’

धामीले केरा खेतीमा बहुबाली खेती गरिरहेका छन् । ‘‘केराभित्र तोरीखेती गरेर २४ कुण्टल फल्यो, अहिले केराबारीमा सुर्खानी लटरम्म फलेको छ’’, उनले भने, ‘‘कामदार अभावमा टिप्न सकेको छैन । केरासँगै अन्य बाली लगाएर फाइदा लिन सकिन्छ ।’’

धामीसँग नियमित १२ जना कामदारले रोजगार पाएका छन् । त्यसबाहेक सिजनमा ज्यलादारीमा कामदार लगाउने गरिएको छ । ‘‘प्राकृतिक प्रकोपबाट बच्ने र बजार ग्यारेन्टी भएमा केरा जति आम्दानी अरु बालीमा छैन’’, उनी भन्छन्, ‘‘बाली बिमामा समस्या छ । तोकिएका कम्पनी बिमा गर्न मान्दैनन् । बिमा गरेका किसानले क्षतिपूर्ति नपाएको अवस्था छ । अहिले मैले चाहेर ५० लाख रुपैयाँको मात्र बिमा गरेको छु । निकै अनुरोध गरेपछि थोरै बालीको बिमा भएको छ । बाली बिमामा किसानलाई सहज वातावरण बनाइदिनुपर्छ ।’’

अहिले कैलालीका किसानले बारीमा ४० देखि ४५ रुपैयाँमा केरा बिक्री गरिरहेका छन् तर बजारमा ८० रुपैयाँ बढीमा बिक्री हुन्छ । केरा उत्पादक किसानले पनि मूल्य पाएका छैनन् भने उपभोक्ता महँगोमा परिरहेका छन् । मूल्यबीचका बिचौलियाले पाइरहेको अवस्था छ ।

नेपालमै केराखेतीको उर्बर भूमिका रुपमा चिनिने टीकापुरमा केराखेती गर्न चाहने किसानले यसवर्ष भने नेपालका ल्यावमा बेर्ना उत्पादन नहुँदा समयमै बेर्ना पाएनन् ।

आयोजनाका कृषि अधिकृत आकृति ठाकुर आयोजनाले केराखेती गर्ने किसानलाई प्रोत्साहन गर्न थोपा सिँचाइ प्रविधि जडानमा सहयोग, बेर्नामा ५० प्रतिशत, शुक्ष्मपोषक तत्वमा ७५ प्रतिशत र प्रविधिमा सघाउने गरेको बताउँछीन्।

‘‘आयोजनाले कृषिका अन्यबाली जस्तै केरा किसानलाई सघाइरहेको छ । बजारीकरणका लागि आवश्यक क्यारेट लगायतका सामग्री उपलब्ध गराउने गरेको छ’’, कृषि अधिृकत ठाकुर भन्छीन्, ‘‘आयोजनाको दोस्रो चरणमा २ सय ५० हेक्टर जमिनमा केराखेती गर्न सघाएको छ । जसमा सय हेक्टर जमिनमा थोपा सिँचाइ प्रविधि जडानमा सघाएको छ ।’’ आयोजनाले आयोजना क्षेत्रका ६ सय ८७ किसानलाई केराखेतीका लागि सघाएको छ । आयोजनाले पहिलो चरणमा किसानलाई केराखेतीमा सघाएको थियो ।

आयोजनाको सहयोगपछि कैलालीको टीकापुर र जानकी क्षेत्रका सयौँ किसान केराखेतीमा आकर्षित भएका छन् ।

आयोजनाका प्रमुख भरत कँडेल सरकारको युवालाई कृषिमा संलग्न गराउने नीतिअनुसार आयोजनाले पनि युवा किसानलाई प्रोत्साहन गरिरहेको बताउँछन्। ‘‘टेकेन्द्र जी जस्तो युवा कृषिमा लाग्नु राम्रो पक्ष हो । किसानहरु केरामा आत्मनिर्भतातर्फ गएको देखिन्छ’’, आयोजना प्रमुख कँडेल भन्छन्, ‘‘खाद्यान्नभन्दा फलफूल त्यसमा केरामा राम्रो आम्दानी लिन सकिन्छ । केराका लागि कैलालीको माटो र हावापानी राम्रो छ ।’’

आयोजनाको तेस्रो चरणका कार्यक्रम पनि सुरु भएका छन् । तेस्रो चरणमा केरा किसानलाई सघाउने कार्यक्रम रहेका र बजार विस्तारका लागि सहजीकरण गर्ने गरेका उनको भनाइ छ ।

प्रकाशित मिति: १२ श्रावण २०८२, सोमबार  १३ : ४६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।