कृषि उपज बजार पुर्याउन एम्बुलेन्स


ढोरपाटन । कृषि उपज बजार पुर्याउन जैमिनी नगरपालिकाले कृषि एम्बुलेन्स खरिद गरेको छ । साथै पालिकाले आगामी भदौदेखि त्यसलाई सञ्चालन गर्ने तयारी थालेको छ ।

सङ्घ सरकारबाट प्राप्त २५ लाख रुपैयाँ र त्यति नै रकम थपेर नगरपालिकाले ५० लाख रुपैयाँमा एम्बुलेन्स खरिद गरेको नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताए। नगरपालिका क्षेत्रमा ५०० वटा कृषि फर्म, कृषि सहकारी र कृषक समूह सक्रिय छन्भने चार हजार परिवार कृषि उत्पादनमा जोडिएका छन् । कृषि एम्बुलेन्स उनीहरूका उत्पादन बजार पुर्याउन उपयोग गरिने छ ।

नगरपालिकाले युवा र किसानलाई व्यावसायिक कृषिमा आकर्षित गर्न अनुदान, तालिम र प्राविधिक सहयोग गर्दै आएको छ । अब बजारीकरणको जिम्मा पनि नगरपालिकाले लिने उपप्रमुख शर्माले बताए।

नगरपालिकाले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनासँगको सहकार्यमा कुश्मिसेरामा कृषि उपज सङ्कलन केन्द्र स्थापना गरेको छभने उपल्लो दमेक सर्कुवामा चिस्यान केन्द्र निर्माण गरेको छ ।

प्रकाशित मिति: १५ श्रावण २०८२, बिहिबार  १० : २८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।