गोरखामा जडीबुटीबाट २० लाख रुपैयाँ राजस्व


गोरखा । जडीबुटी सङ्कलनबाट गोरखामा गत आर्थिक वर्षमा २० लाख १६ हजार ४०४ रुपैयाँ राजस्व दाखिला भएको छ । गत आव विभिन्न गाउँपालिकामा सङ्कलन तथा निकासी भएका ४६ हजार ९७४ केजी जडीबुटीबाट डिभिजन वन कार्यालय र मनास्लु संरक्षण क्षेत्र आयोजनाले उक्त रकम प्राप्त गरेका हुन् ।

मनास्लु क्षेत्रभित्र मात्र ११ हजार ३९२ केजी जडीबुटी सङ्कलन तथा निकासी भएको आयोजना कार्यालयले जनाएको छ । आयोजनाले १२ लाख ७० हजार ४१९ रुपैयाँ राजस्व सङ्कलन भएको जनाएको छ । गत आव ३४.१९ केजी यार्सागुम्बाबाट १० लाख ८९ हजार ८९० रुपैयाँ राजस्व सङ्कलन भएको कार्यालयका प्रमुख सन्तोष शेरचनले बताए।

मनास्लु क्षेत्रमा बुकीफूल, पदमचाल, रातोच्याउ, निर्मसी, टुकीफूल, टिमुर, धुपी, सुनपाती, सेतक्चिनी, गुलाफ, जिम्बु, चिराइतोलगायत जडीबुटीबाट राजस्व सङ्कलन गरिएको हो ।

गत आव मनासलु क्षेत्रबाहेकका अन्य वनक्षेत्रबाट सङ्कलित ३५ हजार ५८२ केजी जडीबुटीबाट डिभिजन वन कार्यालयले ७ लाख ४५ हजार ९८५ रुपैयाँ राजस्व सङ्कलन गरेको जनाएको छ । कार्यालयले सबैभन्दा धेरै जटामसीबाट ३ लाख ५६ हजार २५० रुपैयाँ सङ्कलन गरेको छ ।

प्रकाशित मिति: १६ श्रावण २०८२, शुक्रबार  ११ : २५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।