काठमाडौँ । राष्ट्रिय गौरवको आयोजना काठमाडौँ तराई मधेश द्रुतमार्गको लागत सुरुको अनुमान भन्दा दोब्बर बढीले वृद्धि भएको छ । सुरुमा ९२ अर्ब रुपैयाँ लागत अनुमान गरिएकोमा विभिन्न चरणमा लागत संशोधन हुँदै हाल यो बढेर २ खर्ब ११ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ । जुन सुरुको अनुमान भन्दा १३० प्रतिशतले बढी हो ।
आयोजना निर्माणको क्रममा पूर्वाधार थप हुँदै जाँदा र काममा ढिलाई हुँदा लागत पटक/पटक बढेको हो । सुरुमा ९२ अर्ब अनुमान रहेकोमा पछि पूर्वाधार थपिएसँगै लागत १ खर्ब १६ अर्ब रुपैयाँ पुग्यो । त्यसपछि पुनः संशोधन गरेर १ खर्ब ७५ अर्बको लागत अनुमान गरिएकोमा हाल मूल्य समायोजन र आकस्मिक खर्च समेत जोडेर २ खर्ब ११ अर्ब ९३ करोड रुपैयाँ नाघेको निर्माण गरिरहेको नेपाली सेनाले जनाएको छ ।
लागत बढेपनि आयोजनाको निर्माण कार्यमा तिव्रता दिएको सेनाको भनाई छ । आयोजनाको समग्र भौतिक प्रगति ४२.१३ प्रतिशत र वित्तीय प्रगति ४४ प्रतिशत पुगेको छ । आयोजनामा सबैभन्दा जटिल मानिएका सुरुङ र पूल निर्माण कार्यले गति लिएको सेनाको भनाई छ ।
आयोजना अन्तर्गत तिन मुख्य सुरुङमार्गमध्ये धेद्रे र लेनडाँडाको ब्रेकथ्रु भइसकेको छ । सबैभन्दा लामो ३.३ किलोमिटरको महादेवटार सुरुङको निर्माण कार्य ६८ प्रतिशत सम्पन्न भइसकेको छ । २ हजार २५० मिटरको चन्द्राम भीर सुरुङको १९९ मिटर कार्य सम्पन्न भएको छ भने देवीचौर सुरुङ, सिमौटार सुरुङ र मौरी भीर सुरुङको प्रोटोकलको कार्य भइरहेका छ । यस्तै आयोजनामा रहेका कुल ८९ वटा पूल मध्ये ८५ वटा निर्माणको चरणमा रहेका छन् भने ५७ वटा पूलको फाउन्डेसन र ६ स्थानका पुलहरुको सुपरस्ट्रक्चरको काम सकिएको सेनाले जानकारी दिएको छ ।
सडक निर्माणमा पनि ९.३ मिटर सब बेस र ५ किलोमिटर कालोपत्रे सडक बनिसकेको छ । यसबाहेक, स्लोप प्रोटेक्सन, बाक्स कल्भर्ट,अप्छिकल फाइबर डक्ट र इलेक्ट्रिफिकेसन डक्टर जस्ता संरचनाहरुको काम पनि भइरहेको सेनाले बताएको छ । एनिमल अन्डरपास र इन्टरचेञ्ज निर्माणका कार्यहरु समेत जारी छन् ।
यद्यपि परियोजनााको लागत बढ्दै गएको र काममा आएको ढिलाईले यस योजनाको समयमै सम्पन्न हुने सम्भावना कमजोर भएको देखिन्छ ।
आर्थिक वर्ष २०८१/८२ को अन्त्य सम्ममा कुल ८० अर्ब ५४ करोड रुपैयाँ खर्च भइसकेको छ । गत आर्थिक वर्षमा मात्र १३ अर्ब ४५ करोड ७९ लाख रुपैयाँ बजेट खर्च भएको छ । यसले देखाँउछ कि राष्ट्रिय महत्त्वको यो दु्रतमार्गमा इन्जिनियरिङमा हिसाबले महत्त्वपूर्ण प्रगति हासिल भएपनि बढ्दो लागत व्यवस्थापन गर्नु आयोजना र सरकारका लागि प्रमुुख चुनौती बनेको छ ।
विशेषज्ञहरुका अनुसार लागत वृद्धिको मुख्य कारण समयमै काम सम्पन्न नहुनु, मूल्यवृद्धि र प्राविधिक समस्या हुन् । परियोजनाको पारदर्शिता र कार्यसम्पादनमा सुधार गर्न सरकारले र निर्माण संस्था दुबैले थप कदम चाल्नुपर्ने देखिन्छ । यो दु्रतमार्ग राष्ट्रिय विकास र राजधानीलाई तराईसँग जोड्ने महत्त्वपूर्ण आयोजनाको रुपमा लिइएको छ । यो योजना सफलतापूर्वक सम्पन्न भएमा यसले यातायात प्रणालीलाई सहज र छिटो बनाउने अपेक्ष गरिएको छ । तर हाल देखिएको ढिलाई र लागत वृद्धिले यो सपना साकार हुन थप चुनौती थपेको छ ।










प्रतिक्रिया