भद्रपुर । झापा गत आर्थिक वर्ष २०८१/८२ मा पूर्वी नाका काँकडभिट्टा हुँदै बङ्गलादेशबाट ४ अर्ब ७२ करोड चार लाख १८ हजार रुपैयाँ बराबरको मालसामान आयात भएको छ ।
नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड शाखा कार्यालय काकरभिट्टाका प्रमुख सुवास पाण्डेयका अनुसार बङ्गलादेशबाट सबैभन्दा बढी २ अर्ब ६५ करोड ८७ लाख ४५ हजार रुपैयाँ बराबरको अप्रशोधित जुट आयात भएको छ ।
यसैगरी ३७ करोड १६ लाख रुपैयाँको आलु, २१ करोड २० लाख रुपैयाँको पेपरका साथै ब्याट्री, पोल्ट्री फिड सप्लिमेन्ट, कस्मेटिक आइटम, हाइड्रोजन प्याराअक्साइड, जुट यार्न, विद्युतीय उपकरण, औषधि, ग्लास, फुड एण्ड वेभरेजलगायत मालसामान आयात भएका उनले जानकारी दिए ।
पूर्वीनाका काँकरभिट्टाबाट गत आवमा ४२ करोड २४ लाख ३ हजार रुपैयाँ बराबरको मालसामान बङ्गलादेश निर्यात भएको कम्पनी प्रमुख पाण्डेयले जानकारी दिनुए । जसमध्ये मोलास्सेस (खुदो) मात्रै ३२ करोड ५६ लाख ७८ हजार रुपैयाँ बराबरको बङ्गलादेश निर्यात भएको हो । उनका अनुसार पूर्वी नाका काँकडभिट्टा हुँदै निर्यात हुने अन्य वस्तुमा जडीबुटी, डावर नेपाल प्रोडक्ट, अनिमल फिड, हाउसहोल्ड आर्टिकलस् लगायत रहेका छन् ।
कम्पनी प्रमुख पाण्डेयका अनुसार काँकडभिट्टाबाट भारत पश्चिम बङ्गालको फूलबारी, बङ्गलादेशको उत्तरी नाका बङ्गलाबन्ध हुँदै बङ्गलादेशसँग व्यापार हुँदै आएको छ । बङ्गलादेशसँगको द्विपक्षीय व्यापार सुरु भएको पछिल्लो २७ वर्षको तथ्याङ्क अनुसार निर्यात भन्दा आयात बढी रहेको उनले बताए ।












प्रतिक्रिया